काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजक माधवकुमार नेपालले सिन्धुली–२ बाट बागी उम्मेदवारी दर्ता गरेका महेश्वर दाहालको उम्मेदवारी फिर्ता गराउन नेता हरिबोल गजुरेललाई विशेष निर्देशन दिएका छन्।
शुक्रबार दुवै नेताले हस्ताक्षर गरेर गजुरेललाई लिखित रूपमा निर्देशन दिएका हुन्। गजुरेलले नेकपाका आधिकारिक उम्मेदवार लेखनाथ दाहाल (राजन) विरुद्ध महेश्वर दाहालको मनोनयनको प्रस्तावकको रूपमा सहकार्य गरेका थिए।
निर्देशन अनुसार, महेश्वर दाहालले पार्टी निर्णयको विपरीत अनधिकृत रूपमा उम्मेदवारी दर्ता गराएको पुष्टि भएपछि, गजुरेललाई प्रस्तावकको हैसियतमा सहयोग नगरी उक्त मनोनयन फिर्ता गराउन भनिएको छ। यस मार्फत पार्टीको आधिकारिक उम्मेदवारलाई पूर्ण समर्थन र सहयोग गर्न समेत निर्देशन जारी गरिएको छ।
प्रचण्ड र माधवले यो कदम पार्टी एकता र अनुशासन कायम राख्न आवश्यक रहेको बताउँदै, पार्टीका निर्णय अनुसार मात्रै उम्मेदवारी दर्ता र समर्थन हुने व्यवस्था सुनिश्चित गर्न केन्द्रीय कार्यालयको तर्फबाट विशेष निर्देशन जारी गरिएको स्पष्ट पारेका छन्।

प्रकाशित मिति: ९ माघ २०८२, शुक्रबार












प्रतिक्रिया