काठमाडौं । गोरखा क्षेत्र नम्बर–२ बाट उम्मेदवारी दिएका पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले आगामी प्रतिनिधिसभा निर्वाचनमा देशले आवश्यक ठानेको व्यक्तिलाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै आफ्नो उम्मेदवारी फिर्ता लिएका छन्। शुक्रबार उनले औपचारिक रूपमा उम्मेदवारी फिर्ताको घोषणा गरेका हुन् र निरन्तर जनताको सेवामा रहिरहने वचन दिएका छन्।

भट्टराईले भने, ‘आगामी दिनमा देशले चाहेको अनुसारको व्यक्तिलाई सहयोग गर्ने मेरो प्रतिबद्धता छ। प्रस्तावक र समर्थक साथीहरूलाई म हार्दिक धन्यवाद दिन चाहन्छु।’ विभिन्न व्यक्ति र दलको आग्रहपछि उनले उम्मेदवारी फिर्ता लिने निर्णय गरेको जानकारी दिएका छन्।

advertisement

उनले थप भने, ‘विभिन्न दल र व्यक्तित्वले सल्लाह सुझाव दिएपछि म साझा व्यक्तिको रूपमा रहँदै देशको तरल अवस्था व्यवस्थापनमा योगदान गर्न उपयुक्त देखिन्छ। सबैको आग्रह बमोजिम बाहिरै रहँदै अभिभावकीय भूमिका निर्वाह गर्दा राम्रो हुन्छ।’

भट्टराईले आफ्नो निर्णयको कारण पनि स्पष्ट पारे, ‘मेरो जीवनभरको अभिष्ट संघीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरण हो। देशमा तीव्र आर्थिक विकास र समृद्धिका लागि अब आवश्यक योगदान दिन मैले बाहिर रहँदै दलहरूलाई सहयोग गर्ने निर्णय गरेको छु।’

यस क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले उनलाई उम्मेदवारी फिर्ता गर्न आग्रह गरेको थियो। रास्वपाले यस पटक महामन्त्री कविन्द्र बुर्लाकोटीलाई चुनावी मैदानमा उतारेको छ। बुर्लाकोटी यही क्षेत्रबाट अघिल्लो निर्वाचनमा पनि सहभागी भई नेकपा अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) लाई पराजित गरिसकेका छन्।

यसपटक प्रचण्डले निर्वाचन क्षेत्र परिवर्तन गरेका छन्। स्रोतका अनुसार, प्रचण्डले समेत बाबुरामलाई फोन गरेर उम्मेदवारी फिर्ता लिन आग्रह गरेका थिए। यस क्षेत्रबाट नेपाली कम्युनिस्ट पार्टीका लेखनाथ न्यौपाने उम्मेदवार रहेका छन्।

प्रकाशित मिति: ९ माघ २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com