काठमाडौ । बागलुङमा निर्वाचन प्रहरी भर्ना गर्ने प्रक्रिया पूरा गर्न तीनपटक म्याद थप गरे पनि मागअनुसार आवेदन आउन सकेको छैन।
आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि बागलुङ जिल्लामा नेपाल प्रहरीतर्फ १ हजार २९८ र सशस्त्र प्रहरीतर्फ १८९ गरी कुल १ हजार ४८७ जनाको माग थियो। तर हालसम्म नेपाल प्रहरीतर्फ १४८ र सशस्त्र प्रहरीतर्फ ३ गरी जम्मा १५१ जनाले मात्रै आवेदन दिएका छन्। जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख प्रहरी उपरीक्षक तिलक भारतीका अनुसार, हालसम्म पुरुष ८२३ र महिला २२८ जनाले आवेदन दिएका छन्।
दरखास्त आह्वान गत २४ पुसदेखि १ माघसम्म गरिएको थियो। मागअनुसार आवेदन नआएपछि २ र ३ माघका लागि थप दुई दिन म्याद थप गरिएको थियो। प्रहरी उपरीक्षक भारतीले भने, अझै ४३६ जना आवश्यक रहेको छ।
मागअनुसार आवेदन नआएपछि तेस्रोपटक म्याद आइतबारसम्म थपिएको छ। आवेदन दिने प्रक्रिया सहज बनाउन जिल्ला प्रहरी कार्यालय बागलुङसहित इलाका प्रहरी कार्यालय बुर्तिबाङ र गलकोटबाट पनि आवेदन दिन सकिने जानकारी उनले दिएका छन्।
प्रकाशित मिति: १० माघ २०८२, शनिबार













प्रतिक्रिया