काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सरकारले आफूलाई अपमानजनक व्यवहार गरेको आरोप लगाएका छन्।
गृहजिल्ला झापाबाट शुक्रबार काठमाडौं फर्कने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आफूलाई सुन तस्करलाई जस्तो व्यवहार गरिएको दाबी अध्यक्ष ओलीले गरेका हुन्।
शनिबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले विमानस्थलमा गरिएको सुरक्षा जाँच अस्वाभाविक र अपमानजनक रहेको बताए। उनका अनुसार झापा जाँदा सामान्य व्यवहार गरिएको भए पनि काठमाडौं फर्कँदा भने अत्यधिक चेकजाँच गरिएको थियो।
‘झापा जाँदा एयरपोर्टमा सामान्य व्यवहार भयो, तर फर्किँदा के–के न सुन तस्कर हुँ कि जस्तो गरेर जाँच गरियो,’ ओलीले भने, ‘विदेश जाँदा पनि चिनिएका ठाउँमा यस्तो हुँदैन, तर नचिनेका ठाउँमा कहिलेकाहीँ नेपालीलाई हेपिएको देखिन्छ। हिजो एयरपोर्टमा पनि त्यस्तै व्यवहार भयो। कारण सोध्दा माथिबाट आदेश आएको भनियो।’
अध्यक्ष ओलीले आफूले देशको सम्मानका लागि संघर्ष गर्दै आएको व्यक्ति भएकाले उक्त घटनालाई व्यक्तिगत रूपमा धेरै ठूलो विषय नबनाएको बताए। तर, यसले सरकारको दृष्टिकोण र मानसिकता प्रष्ट भएको उनको भनाइ थियो।
‘नेताहरूको अपमान गर्ने सरकारको प्रवृत्ति हिजै देखियो,’ उनले भने, ‘यो सभ्य र जिम्मेवार सरकारको व्यवहार होइन। यस्तो असभ्य र अराजनीतिक सोचलाई सुधारेर देशलाई सभ्य र सुसंस्कृत दिशातर्फ लैजानु आवश्यक छ।’
अध्यक्ष ओलीले देशलाई सही मार्गमा फर्काउन नेकपा (एमाले) ले सरकारको नेतृत्व गर्नुको विकल्प नभएको दाबी पनि गरे। उनका अनुसार आगामी निर्वाचनले जनताले सभ्य र जिम्मेवार शासनको फैसला गर्नेछ।
प्रकाशित मिति: १० माघ २०८२, शनिबार













प्रतिक्रिया