काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता कमल थापाले जेन–जी युवाहरूले उठाएका माग सम्बोधन गर्न सक्ने राष्ट्रिय राजनीतिक शक्ति राप्रपा मात्र भएको दाबी गरेका छन्।
शनिबार काठमाडौंमा आयोजित राप्रपाको पार्टी भेला तथा कार्यक्रममा बोल्दै थापाले पछिल्ला दुई दशकदेखि देशमा कायम रहेको भ्रष्ट व्यवस्था र शासकविरुद्ध जेन–जी युवाहरूले उठाएको आवाज अधुरो रहेको भन्दै त्यसलाई पूर्णता दिन सक्ने क्षमता र इच्छाशक्ति राप्रपामा मात्रै रहेको बताए।
उनले पछिल्लो निर्वाचनलाई मध्यावधि चुनावको संज्ञा दिँदै जेन–जी युवाहरूको आन्दोलनकै परिणामस्वरूप देश निर्वाचनतर्फ गएको दाबी गरे।
‘यो चुनाव सामान्य चुनाव होइन, यो जेन–जी युवाहरूको आन्दोलनबाट सिर्जित अवस्था हो,’ थापाले भने, ‘पछिल्ला २० वर्षदेखि जरा गाडेर बसेको भ्रष्ट प्रणाली र नेतृत्वबाट मुक्ति चाहिँदै युवाहरू सडकमा उत्रिएका थिए। तर उनीहरूले उठाएको माग अझै पूरा भएको छैन। त्यो अधुरो आकांक्षा पूरा गर्न सक्ने दल राष्ट्रिय राजनीतिमा राप्रपा मात्र हो।’
थापाले स्वतन्त्र र स्वाभिमानी नागरिकको दृष्टिकोणबाट हेर्दा भ्रष्ट प्रणालीका मूल संवाहक नेपाली कांग्रेस र कम्युनिष्ट दलहरू रहेको आरोप लगाए। उनका अनुसार ती दलहरूको गलत नीति र शासनशैलीकै कारण देश अहिले गम्भीर संकटमा पुगेको छ।
‘जसले व्यवस्था र शासन दुवै सञ्चालन गर्यो, उसैले भ्रष्टाचारबाट देश मुक्त गराउँछ भन्ने अपेक्षा गलत हो,’ उनले भने, ‘जनता अहिले यही दुष्चक्रबाट बाहिर निस्कन विकल्प खोजिरहेका छन्।’
प्रकाशित मिति: १० माघ २०८२, शनिबार













प्रतिक्रिया