काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्रीका उम्मेदवारका रूपमा अघि सारिएका नेताहरूबीच सार्वजनिक बहस गर्न आह्वान गरेका छन्।
शनिबार सञ्चारकर्मीसँग कुराकानी गर्दै ओलीले यस्ता बहसमा सहभागी हुन आफू तयार रहेको बताएका थिए। त्यसपछि आइतबार बिहान सामाजिक सञ्जालमार्फत औपचारिक रूपमा सार्वजनिक बहसको प्रस्ताव अघि सारेका हुन्।
‘पब्लिक डिबेटका लागि हामी तयार छौँ। नयाँ र पुराना सबै दलहरू अहिले निर्वाचनमा होमिएका छन्। देश जलाउने र देश बनाउने पक्षबीचको यो प्रतिस्पर्धामा हाम्रो पार्टी नेकपा (एमाले) देश बनाउने पक्षबाट मैदानमा उत्रिएको छ,’ उनले उल्लेख गरेका छन्। सामाजिक सञ्जालमा फ्रेमिङ गरेर तयार पारिएका प्रचार सामग्रीमार्फत मतदातालाई भ्रममा पार्ने प्रयास भइरहेको भन्दै त्यसकै कारण सार्वजनिक बहसको माग उठेको हुनसक्ने ओलीको भनाइ छ।
उनका अनुसार यसपटकको निर्वाचनमा ऐतिहासिक भूमिका खेलेका दलदेखि अघिल्लो निर्वाचनमा उदाएका र हालै गठन भएका नयाँ दलहरूसमेत प्रधानमन्त्रीका उम्मेदवार घोषणा गरेर चुनावी मैदानमा उत्रिएका छन्। देशको नेतृत्व गर्न चाहने दलहरूको एजेण्डा, विगतमा गरेको काम, भावी योजना, रोडम्याप र खाकाबारे स्पष्टता आवश्यक रहेको भन्दै ओलीले ती विषयमा आमनेसामने बहस सकारात्मक र आवश्यक रहेको बताएका छन्।
‘यसअघि हामीले के गर्यौँ र अब कसरी काम गर्छौँ भन्ने तथ्य र एजेण्डा सार्वजनिक बहसमार्फत प्रस्तुत गर्न म तयार छु। चुनावपछि प्रधानमन्त्रीका उम्मेदवारका रूपमा अघि सारिएका सबैसँग सिधा प्रश्न–उत्तर हुने मञ्चमा उभिएर आफ्ना विचार राख्न प्रतिबद्ध छु,’ उनले भनेका छन्। यस्तो पब्लिक डिबेट आयोजना गरी सबै पक्षलाई सहभागी गराउन उनले आग्रहसमेत गरेका छन्।
यसैबीच, एमाले सचिवालय बैठकले अध्यक्ष ओलीलाई भावी प्रधानमन्त्रीका रूपमा अघि सारेको छ। नेपाली कांग्रेसले सभापति गगन थापालाई तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले वरिष्ठ नेता बालेन शाहलाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरिसकेका छन्।
प्रकाशित मिति: ११ माघ २०८२, आइतबार













प्रतिक्रिया