काठमाडौं। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री डा. सुधा शर्मा गौतमले वित्तीय असन्तुलन र समयमै दाबी भुक्तानी हुन नसक्दा स्वास्थ्य बीमा कार्यक्रमलाई प्रभावकारी बनाउन थप चुनौती उत्पन्न भएको बताएकी छन्।

मन्त्रालयको जिम्मेवारी सम्हालेको तीन महिना पूरा भएको अवसरमा आइतबार आयोजित पत्रकार सम्मेलनमा मन्त्री गौतमले स्वास्थ्य बीमा क्षेत्रमा देखिएका गम्भीर समस्याहरू सार्वजनिक गरेकी हुन्। उनका अनुसार बीमामा उच्च स्वास्थ्य जोखिम भएका व्यक्तिहरूको मात्रै बढी सहभागिता, सेवाको अनावश्यक उपभोग तथा दाबी व्यवस्थापनमा कमजोरी हुँदा कार्यक्रम अपेक्षाअनुसार सफल हुन सकेको छैन।

advertisement

पदभार ग्रहण गरेकै दिनदेखि बीमा सुधारलाई प्राथमिकतामा राखेर काम सुरु गरे पनि विभिन्न प्राविधिक र व्यवस्थापकीय समस्याले सुधार प्रक्रिया प्रभावित भएको उनले स्पष्ट पारिन्। यद्यपि, स्वास्थ्य बीमा बोर्डको ओएनएम सर्वेक्षण प्रतिवेदन तयार भई स्वीकृतिको अन्तिम चरणमा पुगेको जानकारी पनि उनले दिइन्।

मन्त्री गौतमले गुणस्तरीय स्वास्थ्य सेवाका लागि दक्ष जनशक्ति उपलब्ध भए पनि भौतिक पूर्वाधारको अभाव र पुरानो संरचनाका कारण सुधार कार्य चुनौतीपूर्ण बनेको बताइन्। उनले आफ्नो कार्यकालमा जनयुद्धका घाइतेहरूको उपचार, मातृ तथा नवजात शिशु स्वास्थ्य, वैदेशिक रोजगारमा रहेका श्रमिकको स्वास्थ्य सुरक्षा तथा औषधि प्रयोगशालाको सुधारलाई प्राथमिकतामा राखेर काम गरिरहेको दाबी गरिन्।

विशेष गरी लुम्बिनी, कर्णाली, गण्डकी र मधेस प्रदेशमा मातृ मृत्युदर उच्च रहेकाले ती क्षेत्रमा लक्षित कार्यक्रम सञ्चालन गरिएको मन्त्री गौतमले जानकारी दिइन्। आगामी दिनमा स्वास्थ्य प्रणालीलाई थप पारदर्शी र जवाफदेही बनाउँदै नागरिकको विश्वास जित्ने गरी सेवा प्रवाह केन्द्रित नीति अपनाइने उनले प्रतिबद्धता व्यक्त गरिन्।

प्रकाशित मिति: ११ माघ २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com