काठमाडाैं । नेपाली कांग्रेसका निवर्तमान प्रचार विभाग प्रमुख मीन विश्वकर्माले पार्टी केन्द्रीय कार्यसमिति बैठकले गरेको निर्णयको पालना गर्नु सबैका लागि अनिवार्य भएको बताएका छन्।

सामाजिक सञ्जाल फेसबुकमार्फत धारणा सार्वजनिक गर्दै उनले केन्द्रीय कार्यसमिति बैठकले सभापति गगन थापालाई भावी प्रधानमन्त्रीका रूपमा घोषणा गरिसकेको उल्लेख गरे। सो निर्णय पार्टीभित्र सबैले मान्नुपर्ने स्पष्ट गर्दै उनले त्यसको उल्लङ्घन गर्ने कसैलाई पनि छुट नहुने चेतावनी दिएका छन्।

advertisement

‘पार्टीका तर्फबाट सभापति गगन थापालाई भावी प्रधानमन्त्री घोषणा गरिएको छ। केन्द्रीय कार्यसमितिको निर्णय सबैले पालना गर्नुपर्छ, अन्यथा गर्ने कसैलाई छुट छैन,’ विश्वकर्माले लेखेका छन्।

उनका अनुसार हाल नेपाली कांग्रेसभित्र कुनै किसिमको मतभेद छैन। आगामी निर्वाचनमा रूख चुनाव चिह्नमा बहुमत ल्याउने लक्ष्यसहित पार्टी एकताबद्ध रूपमा अघि बढिरहेको उनले दाबी गरेका छन्।

‘अदालतमा मुद्दा विचाराधीन रहेकै अवस्थामा पनि निर्वाचन प्रभावित नहोस् भन्ने उद्देश्यले उम्मेदवार छनोटमा सहमति गरिएको छ। देशभर कांग्रेसजन रूख चिह्नमा निर्विवाद रूपमा मत माग्ने वातावरण बनिसकेको छ। अहिले पार्टीभित्र कुनै मतभेद छैन,’ उनले स्पष्ट पारेका छन्।

यस्तै, राष्ट्रिय सभा निर्वाचनपछि पूर्वउपसभापति पूर्णबहादुर खड्का पक्षले छुट्टै भेला बोलाउन लागेको भन्ने चर्चा निराधार हल्ला मात्रै भएको पनि विश्वकर्माले बताएका छन्।

पार्टी चुनावी प्रतिस्पर्धामा रहेको संवेदनशील समयमा भ्रामक सूचनाहरू फैलिन सक्ने भन्दै उनले यस्ता विषयमा पार्टीका जिम्मेवार व्यक्तिसँग बुझ्न आग्रह गरेका छन्। साथै, पार्टीका आधिकारिक उम्मेदवारलाई असर पुग्ने कुनै पनि गतिविधि नगर्न उनले सबै कांग्रेसजनलाई अनुरोध गरेका छन्।

प्रकाशित मिति: १२ माघ २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com