काठमाडौं। उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले आसन्न निर्वाचनमा जनतामुखी र परिणाममुखी पार्टीलाई मतदान गर्न आग्रह गरेका छन्। उनले विदेशमा रहेका नेपालीहरूसँग आइतबार बिहान जुममार्फत छलफल गर्दै नेपालमा रहेका आफन्तहरूलाई उज्यालो नेपालको चुनाव चिन्ह चिम मा भोट हाल्न अनुरोध गर्न अपिल गरे।
अमेरिका, बेलायत र जापानमा रहेका प्रवासी नेपालीहरूको सहभागितामा भएको छलफलमा अध्यक्ष घिसिङले उज्यालो नेपाल नेपाली जनताको जीवनमा प्रत्यक्ष परिणाम दिन सक्ने वैकल्पिक शक्ति भएको दाबी गरे। उनले देश परिवर्तनका लागि जनताको पक्षमा काम गर्ने पार्टीलाई जिताउन आवश्यक रहेको बताए।
छलफलका क्रममा प्रवासी नेपालीहरूले राष्ट्रिय स्वतन्त्र पार्टीसँगको पार्टी मिलनले उज्यालो नेपाललाई नोक्सान पुगेको गुनासो गर्दै भविष्यमा विवादास्पद पार्टीसँग सहकार्य नगर्न सुझाव दिएका छन्। उनीहरूले पार्टी स्थापनाको छोटो अवधिमै उज्यालो नेपालले गति लिएको भन्दै वैकल्पिक राजनीतिक शक्ति निर्माणका लागि मेची–महाकाली यात्रा गर्न र इमानदारीपूर्वक जनतामाझ सक्रिय हुन आग्रह गरे।
मिटिङमा हार्वर्ड, एमआइटी लगायत विश्वप्रसिद्ध विश्वविद्यालयमा कार्यरत प्राध्यापक, विद्वान तथा स्थापित व्यवसायीहरूको सहभागिता रहेको थियो। सहभागीहरूले पार्टीलाई स्थापित गर्न र मातृभूमि नेपालको हितका लागि सधैं सहयोग गर्न तयार रहेको प्रतिबद्धता व्यक्त गरे। साथै, निर्वाचनमा ठूलो खर्च लागे पनि विवादित र भ्रष्ट व्यक्तिबाट चन्दा नलिन सुझाव दिएका छन्।
छलफलबाट भगवान श्रेष्ठको संयोजकत्वमा उज्यालो नेपाल प्रवास समिति बेलायत गठन भएको छ, जसमा प्रज्वल श्रेष्ठ र पुष्कल श्रेष्ठ सदस्य रहेका छन्। पार्टीका प्रवक्ता डा. राजु थापाका अनुसार युरोपेली देशहरू र अमेरिकामा पनि प्रवास समिति गठन गर्ने तयारी भइरहेको छ।
उक्त जुम छलफलको संयोजन अमेरिकाबाट डा. विष्णु जोशी र बेलायतबाट एलएन पाण्डेले गरेका थिए। छलफलमा अमेरिका, बेलायत र जापानबाट विभिन्न पेशामा संलग्न नेपालीहरूको उल्लेख्य सहभागिता रहेको थियो।
प्रकाशित मिति: १२ माघ २०८२, सोमबार












प्रतिक्रिया