काठमाडौं । अर्थमन्त्री रामेश्वरप्रसाद खनालले आयातमा आधारित उपभोगलाई क्रमशः आन्तरिक उत्पादनले प्रतिस्थापन गर्न आवश्यक रहेको बताएका छन्। ७४औँ अन्तर्राष्ट्रिय भन्सार दिवसको अवसरमा भन्सार विभागद्वारा आयोजित कार्यक्रममा बोल्दै उनले अर्थतन्त्र सुधारका लागि आन्तरिक उत्पादन प्रवर्द्धन अपरिहार्य भएको स्पष्ट पार्नुभयो।
मन्त्री खनालका अनुसार आन्तरिक उत्पादनले प्रतिस्थापन गर्न सक्ने वस्तुहरू अनावश्यक रूपमा आयात भइरहेको अवस्थामा भन्सार ऐन–कानुनमार्फत नियन्त्रण आवश्यक छ। उनले आन्तरिक उत्पादन प्रवर्द्धन गर्ने स्पष्ट नीति निर्माण, भन्सार ऐनको प्रभावकारी कार्यान्वयन र भन्सार नियमावली छिट्टै ल्याउने प्राथमिकता रहेको जानकारी दिनुभयो।
कार्यक्रममा अर्थ सचिव घनश्याम उपाध्यायले भन्सार मूल्याङ्कनमा विभिन्न कार्यालयबीच हुने फरकवाट समस्या उत्पन्न भएको उल्लेख गर्दै अनलाइन मूल्याङ्कन प्रणाली कार्यान्वयन आवश्यक रहेको बताए। महालेखानियन्त्रक शोभाकान्त पौडेलले भन्सार प्रशासनमा डर वा प्रलोभनको असर नपर्ने गरी सहज, छरितो सेवा प्रवाहमा केन्द्रित हुनुपर्ने बताए।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव रामप्रसाद घिमिरेले भन्सार प्रशासनको आधुनिकीकरणमा सुधार अघि बढेको र नयाँ भन्सार ऐन तथा डाटाबेस प्रणाली कार्यान्वयनमा आएको जानकारी दिए। लोकसेवा आयोगका सचिव रामेश्वर दङ्गालले मूल्याङ्कन प्रणालीको सुधारले व्यापारमा पारदर्शिता र स्वचालन बढाएको बताए।
भन्सार विभागका महानिर्देशक श्यामप्रसाद भण्डारीले २०६० सालदेखि योजनाबद्ध सुधार कार्यक्रमले अन्तर्राष्ट्रिय मापदण्डअनुसारको भन्सार प्रणाली विकास गरेको र अनलाइन कस्टम भ्यालुएसन डाटाबेस प्रणालीले व्यापार लागत घटाउने, पारदर्शिता बढाउने र अवैध व्यापार नियन्त्रणमा सहयोग पुग्ने विश्वास व्यक्त गरे।
प्रकाशित मिति: १२ माघ २०८२, सोमबार













प्रतिक्रिया