दमौली । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले मुलुकको विकास श्रममा निर्भर हुने बताएका छन्। तनहुँको आँबुखैरेनीमा स्थानीयसँग भेटघाट गर्दै उनले गफ मात्रले देश नबन्ने र त्यसका लागि उत्पादनशील श्रम अनिवार्य रहेको स्पष्ट पारे।
अध्यक्ष साम्पाङले राजनीतिक दलहरू विकासका नाममा भाषण र आश्वासनमै सीमित रहेको आरोप लगाउँदै आफ्नो पार्टीले श्रमलाई व्यवहारमै प्राथमिकता दिएको दाबी गरे। उनले भन्नुभयो,
“काम नगरेर देश बनेको छैन। काम गर्ने मानिसलाई हेप्ने र गफ गर्ने मानिसलाई सम्मान गर्ने गलत संस्कार छ।”
उनले बेरोजगारी, गरिबी र परनिर्भरताको समस्याको समाधान सबै नागरिकलाई उत्पादनशील काममा जोडिनुमा रहेको बताए। विशेषगरी युवाहरू श्रमबाट टाढा हुँदा ठूलो जनशक्ति विदेशिन बाध्य भएको उनको भनाइ थियो।
साम्पाङले विदेशी सहयोग र अनुदान मात्रले देश नबन्ने स्पष्ट पार्दै आफ्नै श्रम र स्रोतको सदुपयोगमार्फत विकास गर्नुपर्नेमा जोड दिनुभयो।
“विदेशी आएर हाम्रो देश बनाई दिँदैनन्। आफ्नो देश आफैँले बनाउने हो। श्रमलाई मूल आधार मानेर हामी अघि बढेका छौँ।”
प्रकाशित मिति: १२ माघ २०८२, सोमबार












प्रतिक्रिया