काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधि सभा निर्वाचनमा आचारसंहिता उल्लंघन भएको भन्दै विभिन्न उम्मेदवार, सार्वजनिक पदाधिकारी र संघ संस्थालाई स्पष्टीकरण सोधेको छ।
नेपाली कम्युनिष्ट पार्टीका जाजरकोटका उम्मेदवार शक्ति बस्नेतलाई पैसा बाँडेको भिडिओको आधारमा तीन दिनभित्र जबाफ दिन आयोगले निर्देशन दिएको छ। भिडिओमा बस्नेत बाजा बजाउने मानिसको टाउकोमा पैसा सिउँरिदिएको देखिएको छ।
त्यस्तै, श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङलाई निर्वाचनमा बालबालिकाको प्रयोग गरेको विषयमा स्पष्टीकरण सोधिएको छ।
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीलाई झापा–५ मा नेकपा एमालेका उम्मेदवार केपी शर्मा ओलीको मनोनयन दर्ता कार्यक्रममा सरकारी गाडी प्रयोग गरेको विषयमा स्पष्टीकरण दिन भनिएको छ।
त्यस्तै, राप्रपाबाट काठमाडौं–४ बाट उम्मेदवार सुरेन्द्र भण्डारीलाई यौनिक तथा अल्पसंख्यक समुदायविरुद्ध घृणित अभिव्यक्ति दिएको आरोपमा स्पष्टीकरण सोधिएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीका दोलखाका उम्मेदवार जगदीश खरेललाई दलको झण्डा प्रयोग र मनोनयन दर्ता गर्दा २५ भन्दा बढी मानिस सहभागी गराएको विषयमा स्पष्टीकरण सोधिएको छ। खरेलले जवाफ पठाइसकेका छन् र आगामी दिनमा आचारसंहिता पालना गर्ने उल्लेख गरेका छन्।
निर्वाचन आयोगले अखिल नेपाल फुटबल संघ (एन्फा) र राष्ट्रिय खेलकुद परिषद् (राखेप) लाई पनि स्पष्टीकरण सोधेको छ। एन्फालाई निर्वाचनसँग सम्बन्धित विषयमा र राखेपलाई खेलकुद सम्मेलनसँग सम्बन्धित विषयमा सोधिएको हो।
आयोगले प्रारम्भमा ३ दिनको स्पष्टीकरण माग्ने, दोस्रो पटक २४ घण्टे स्पष्टीकरण माग्ने र त्यसपछि पनि आचारसंहिता उल्लंघन गर्नेहरुलाई जरिवाना वा उम्मेदवारी खारेजसम्म कारबाही गर्न सक्ने अधिकार राखेको छ।
प्रकाशित मिति: १२ माघ २०८२, सोमबार












प्रतिक्रिया