काठमाडौँ ।  स्वास्थ्य बीमा बोर्डले सेवा प्रदायक स्वास्थ्य संस्थालाई बोर्डले तोकेको मापदण्डअनुसार आवश्यक कागजातसहित भुक्तानी दाबी प्रविष्ट गर्न अनुरोध गरेको छ।

स्वास्थ्य बीमाबापत जथाभावी तथा मापदण्डविपरीत दाबी पेस हुन थालेपछि बोर्डले स्वास्थ्य संस्थाहरुलाई दाबी पुनरावलोकन गर्न आन्तरिक समिति गठन गर्न आग्रह गरेको बोर्डका सूचना अधिकारी विकेश मल्लले जानकारी दिए।

advertisement

“स्वास्थ्य बीमासम्बन्धी दाबीका विवरणमा धेरै त्रुटि देखिने गरेका छन्,” उनले भने, “त्यसैले स्वास्थ्य संस्थाले आफैं समिति बनाएर दाबी रकम पुनरावलोकन गरी मात्र बोर्डमा पठाउन आग्रह गरिएको हो।”

स्वास्थ्य बीमा रियल टाइम दाबीसम्बन्धी कार्यविधि–२०८० अनुसार दाबी रुजु तथा मूल्याङ्कन प्रक्रियालाई थप सहज बनाउन र दाबी अस्वीकृत हुने दर घटाउन प्रत्येक सेवा प्रदायक स्वास्थ्य संस्थाले पुनरावलोकन समिति गठन गर्नुपर्ने उनको भनाइ छ।

बोर्डले दाबी प्रविष्ट गर्नुअघि सम्बन्धित समितिले दाबीको रुजु र पुनरावलोकन गरी त्यसपछि मात्र मापदण्डबमोजिम आवश्यक कागजातसहित दाबी प्रविष्ट गर्न स्पष्ट निर्देशन दिएको छ।

मापदण्डअनुसार प्राप्त नभएका स्वास्थ्य बीमासम्बन्धी दाबीको भुक्तानी नगर्ने चेतावनीसमेत बोर्डले दिएको छ। सूचना अधिकारी मल्लका अनुसार बोर्डमा दैनिक रूपमा करिब १० करोड रुपैयाँ बराबरको भुक्तानी दाबी स्वास्थ्य संस्थाबाट पेस हुने गरेको छ। हालसम्म स्वास्थ्य बीमाबापत करिब १२ अर्ब रुपैयाँ भुक्तानी गर्न बाँकी रहेको बोर्डले जनाएको छ।

प्रकाशित मिति: १२ माघ २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com