सर्लाही । नेपाली कांग्रेसका सभापति गगन थापाले आफू सर्लाहीका जनतासँग केवल मत माग्न मात्र नभई यहाँको माटो, समाज र मानिससँग गहिरो भावनात्मक सम्बन्ध स्थापित गर्न आएको बताएका छन्।
मंगलबार बलरा नगरपालिकामा आयोजित अगुवा कार्यकर्ता भेटघाट तथा पार्टी प्रवेश कार्यक्रममा सम्बोधन गर्दै सर्लाही–४ बाट उम्मेदवारसमेत रहेका थापाले चुनावी समयमा मात्र देखा पर्ने र मतदानपछि हराउने ‘पाहुना नेता’ बन्ने आफ्नो चाहना नरहेको स्पष्ट पारे।
उनले अन्य केही नेताहरू चुनाव नजिकिँदा हतारमा आउने, फोटो खिच्ने, हात हल्लाएर औपचारिकता निभाउने र त्यसपछि जनताबाट टाढा हुने प्रवृत्तिबाट आफू फरक रहेको दाबी गरे। कार्यक्रमका क्रममा कार्यकर्ताहरूले स्थानीय भाषाका केही शब्द प्रयोग गर्न सुझाव दिएको उल्लेख गर्दै थापाले ताली बटुल्नका लागि बनावटी नाटक नगर्ने बताए।
‘मलाई यहाँको भाषामा दुई–चार लाइन बोल्नुपर्छ भनेर सुझाव आयो,’ थापाले भने, ‘तर रातभरि रटेर केही मिनेटका लागि नक्कली रूपमा भाषा बोलेको देखिन चाहन्न। म जनप्रतिनिधि बनेपछि छ महिनादेखि एक वर्ष समय लागे पनि यहाँको भाषा सिक्छु, सबैलाई नामले चिन्ने अवस्थामा पुग्छु र फरर भाषण गर्न सक्ने हैसियत बनाउँछु।’
आफू काठमाडौंको सांसद हुँदा गैर–नेवार हुँदाहुँदै पनि नेवार समुदायको संस्कृति, जात्रा र पर्वमा घुलमिल भएर विश्वास जितेको अनुभव स्मरण गर्दै उनले सर्लाहीमा पनि यहीँका समुदायले आफ्नै मान्छे ठान्ने वातावरण निर्माण गर्ने प्रतिबद्धता जनाए।
नौटङ्की र चटके भाषणमा आफू निपुण नभएको स्वीकार गर्दै थापाले सर्लाही–४ का जनताका लागि जिम्मेवार साथी, भाइ वा छोरा बनेर काम गर्ने संकल्प व्यक्त गरे। उनले तीन दिनसम्म निरन्तर क्षेत्रमै बस्ने, त्यसपछि पार्टीको कामका लागि काठमाडौं गएर पुनः फर्कने र सकेसम्म धेरै समय जनताको घरदैलोमै बिताउने योजना रहेको जानकारी दिए।
प्रकाशित मिति: १३ माघ २०८२, मंगलबार













प्रतिक्रिया