काठमाडाैं । ओखलढुंगाको चिशंखुगढी गाउँपालिका–६ मा एक वृद्ध दम्पतीको हत्या भएको अवस्थामा शव फेला परेको छ। मंगलबार बिहान करिब साढे ७ बजे आफ्नै घरभित्र दम्पती मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक बिक्रमबहादुर भट्टराईका अनुसार मृतक करिब ८० वर्षीय चन्द्रबिक्रम राई र उनकी श्रीमती चन्द्रमाया राई हुन्। प्रारम्भिक अनुसन्धानबाट लुटपाट गर्ने उद्देश्यले हत्या गरिएको आशंका गरिएको छ।

advertisement

‘उहाँहरूको घरमा किराना पसल सञ्चालन हुँदै आएको रहेछ। पैसा राख्ने ठाउँ फुटाइएको अवस्थामा भेटिएको छ। लुटपाटकै लागि हत्या गरिएको देखिन्छ,’ प्रहरी निरीक्षक भट्टराईले बताए।

उनका अनुसार दम्पती मात्रै उक्त घरमा बस्दै आएका थिए। घटनाको प्रकृति यसअघि ओखलढुंगामा भएका हत्यासँग मिल्दोजुल्दो देखिएको प्रहरीले जनाएको छ।

‘पहिले भएका हत्याजस्तै प्रकृति देखिन्छ। घटनाबारे गहिरो अनुसन्धान गरिरहेका छौं,’ भट्टराईले भने, ‘तालिम प्राप्त कुकुरसहितको टोली बोलाइएको छ।’

यसअघि ओखलढुंगामा लुटपाटसँगै हत्या गरेको आरोपमा केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले चार जनालाई पक्राउ गरेको थियो। पक्राउ पर्नेमा ओखलढुंगा चिसाङ्ग गाउँपालिका–३ का २८ वर्षीय मिलन भन्ने संगम राई, रातमाटे बस्ने ३० वर्षीय विनोद राई, ३० वर्षीय प्रकाश भुजेल र ३० वर्षीय दोर्जे भन्ने अशोक भुजेल रहेका थिए।

उनीहरूको समूहले २०८२ पुस १५ गते चिशंखुगढी गाउँपालिका–६ का ६० वर्षीय शोभितमान थापा र उनकी श्रीमती ६० वर्षीया रत्नमाया थापा मगरको हत्या गरी करिब १ लाख रुपैयाँ नगद तथा गहना लुटेको आरोप छ।

त्यसैगरी, २०८२ असोज २६ गते सिद्धिचरण नगरपालिका–४ की ५२ वर्षीया रत्नकुमारी कटवालको पनि बञ्चरो प्रहार गरी हत्या गरेर नगद र गहना लुटपाट गरेको आरोप उनीहरूमाथि लगाइएको थियो।

प्रहरीले उनीहरूबाट हत्या गर्न प्रयोग गरिएका बञ्चरो, खुकुरी, गहना गालेर बनाइएको औंठी, बन्दुक, कोदालो, मोबाइललगायतका सामग्री बरामद गरेको थियो।

तर गिरोह पक्राउ परिसकेको दाबी गरिएपछि पनि पुनः अर्को दम्पतीको हत्या भएको घटना सार्वजनिक भएपछि यो प्रकरण थप रहस्यमय बनेको छ।

‘त्यतिबेला गिरोहलाई प्रमाणसहित पक्राउ गरेका थियौं। अहिलेको घटना र अघिल्लो घटनाबीच सम्बन्ध छ कि छैन भन्ने विषय अनुसन्धानपछि मात्र स्पष्ट हुन्छ,’ प्रहरी निरीक्षक भट्टराईले बताए।

प्रकाशित मिति: १३ माघ २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com