रसुवा । रसुवा भन्सार कार्यालयले चालु आर्थिक वर्षको पहिलो छ महिनामा करिब रु एक अर्ब १६ करोड राजस्व सङ्कलन गरेको छ। हाल करिब दुई सयवटा मालवाहक कन्टेनरका सामग्रीको परीक्षण भइरहेकोे भन्सार कार्यालयले जनाएको छ।
७४औँ भन्सार दिवसको अवसरमा सोमबार आयोजित कार्यक्रममा प्रमुख भन्सार अधिकृत तुलसीप्रसाद भट्टराईले चालु वर्षको राजस्व संकलन र भन्सार क्षेत्रको सरसफाइबारे जानकारी दिएका छन्।
उहाँका अनुसार, गत असार २४ गते ल्हेन्दे खोलामा आएको बाढीका कारण सुक्खा बन्दरगाह क्षेत्रमा जमेको ढुङ्गा र बालुवा हटाउने कार्य नेपाल इन्टर मोडल यातायात विकास समितिमार्फत भइरहेको छ। हालसम्म करिब दुई सय ५० वटा ट्रक अट्ने वातावरण बनिसकेको भए पनि केही भागमा अझै सफाइ बाँकी रहेको भट्टराईले जानकारी दिएका छन्।
सो अवसरमा उत्कृष्ट कार्य गर्ने दुई व्यवसायी र चार जना कर्मचारीलाई सम्मान गरिएको थियो। व्यवसायीतर्फ सिजी मोटर सप्लायर्सलाई विद्युतीय सवारीसाधन आयात गरी गत आर्थिक वर्षमा रु तीन अर्ब २१ करोड राजस्व बुझाएकोमा र फिन्जो सोनाम सप्लायर्स काठमाडौँलाई रु ७४ करोडबराबरको सामग्री निर्यात गरेकोमा सम्मान गरिएको थियो। कर्मचारीतर्फ नायब सुब्बा रमेश ज्ञावली, इलेक्ट्रिसियन राजु ओली, हल्का सवारी चालक श्यामकुमार सिलवाल र कार्यालय सहयोगी नरेशदत्त जोशीलाई सम्मान गरिएको भन्सार कार्यालयले जानकारी दिएको छ।
सो कार्यक्रम रसुवाका प्रमुख जिल्ला अधिकारी राजेश पन्थीको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो। कार्यक्रममा गोसाइँकुण्ड गाउँपालिका–२ का वडाध्यक्ष कामीछिरिङ तामाङ, रसुवा नागरिक समाजका अध्यक्ष बाबुलाल तामाङ, समाजसेवी मीना थापामगर, भन्सार एजेन्ट सङ्घका अध्यक्ष सुरेन्द्रप्रसाद सुवेदी, नेपाल सीमापार व्यापार सङ्घका सहकोषाध्यक्ष सुमन श्रेष्ठ र सिन्धुपाल्चोक वाणिज्य सङ्घका उपाध्यक्ष इन्द्र राउतले आ–आफ्ना धारणा राखेका थिए।
कार्यक्रममा वक्ताहरूले रसुवागढी नाकालाई नीति–नियमअनुसार सञ्चालन गर्दै उत्तरी नाकाको गरिमा अझ उच्च बनाउन सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड दिएका छन्। साथै सडक सुधार कार्ययोजना सफल बनाउन सहकार्य आवश्यक रहेको उल्लेख गर्दै चीन सरकारको सहयोगमा सुधार हुने सडकको पहिलो चरणमा असहज मोडहरू सिधा बनाउन सवारी चालकहरूले माग गरेका छन्।
यसैबीच, रसुवागढी खण्डमा सडक सञ्चालनले हिउँदको सुक्खा होस् वा वर्षायामको हिलो–पहिरो पन्छाउने काममा महत्वपूर्ण भूमिका खेलेको उल्लेख गर्दै रसुवढी जलविद्युत् केन्द्रलाई पनि प्रशंसा गरिएको भन्सार कार्यालयका सूचना अधिकारी ठाकुर गौतमले जानकारी दिएका छन्।
प्रकाशित मिति: १३ माघ २०८२, मंगलबार












प्रतिक्रिया