एजेन्सी ।  युरोपेली सङ्घ (ईयू) का २७ सदस्य राष्ट्रहरूले युरोपेली बजारमा रूसी पाइपलाइन ग्यास र तरल प्राकृतिक ग्यास (एलएनजी) आयातलाई चरणबद्ध रूपमा बन्द गर्ने सम्बन्धी कानून औपचारिक रूपमा स्वीकृत गरेका छन्।

ईयू परिषद्ले जारी गरेको विज्ञप्तिमा नयाँ नियमहरू अन्तर्गत ऊर्जा आपूर्तिको प्रभावकारी अनुगमन, जोखिम व्यवस्थापन तथा आपूर्तिको विविधीकरणलाई प्राथमिकता दिइएको उल्लेख गरिएको छ।

advertisement

नयाँ कानूनअनुसार युरोपेली युनियनभित्र रूसी मूलका पाइपलाइन ग्यास र एलएनजी आयातमा प्रतिबन्ध लगाइनेछ। कानून लागू भएको छ हप्तापछि प्रतिबन्ध कार्यान्वयनमा आउनेछ भने यसबीचको समय विद्यमान सम्झौताका लागि सङ्क्रमण अवधिका रूपमा रहनेछ। चरणबद्ध कार्यान्वयनबाट मूल्य र बजारमा पर्न सक्ने नकारात्मक प्रभावलाई न्यूनिकरण गर्ने उद्देश्य राखिएको छ।

विज्ञप्तिअनुसार सन् २०२७ को सुरुदेखि एलएनजी आयातमा पूर्ण प्रतिबन्ध लागू हुनेछ भने सोही वर्षको शरद ऋतुदेखि पाइपलाइन ग्यास आयात पूर्ण रूपमा बन्द गरिनेछ।

नयाँ व्यवस्थाअनुसार युरोपेली युनियनमा ग्यास आयातको अनुमति दिनु अघि सदस्य राष्ट्रहरूले ग्यास उत्पादन भएको मुलुकको प्रमाणिकरण अनिवार्य रूपमा गर्नुपर्नेछ।

कानूनको उल्लङ्घन गरेमा व्यक्तिलाई कम्तीमा २५ लाख युरो जरिवाना तोकिनेछ भने कम्पनीहरूलाई कम्तीमा ४ करोड युरो, वा कम्पनीको कुल विश्वव्यापी वार्षिक कारोबारको ३.५ प्रतिशत, वा अनुमानित लेनदेन कारोबारको ३०० प्रतिशतसम्म जरिवाना हुन सक्ने व्यवस्था गरिएको छ।

ईयूले सन् २०२६ को मार्चसम्म सबै सदस्य राष्ट्रलाई ग्यास आपूर्तिको विविधीकरण र रूसी ग्यास प्रतिस्थापनमा आउन सक्ने चुनौतीहरूको पहिचानसहित राष्ट्रिय कार्ययोजना तयार गर्न निर्देशन दिएको छ। यस क्रममा सम्बन्धित कम्पनीहरूले अधिकारीहरूलाई तथा आयोगलाई बाँकी रहेका रूसी ग्याससम्बन्धी सम्झौताबारे जानकारी गराउनुपर्नेछ। हाल रूसी तेल आयात गरिरहेका सदस्य राष्ट्रहरूले पनि यस्तै विविधीकरण योजना पेस गर्नुपर्नेछ।

यद्यपि, आपतकालीन अवस्था घोषणा भएमा र यदि एक वा एकभन्दा बढी सदस्य राष्ट्रमा ऊर्जा आपूर्तिको सुरक्षा गम्भीर रूपमा प्रभावित हुने अवस्था आएमा, युरोपेली आयोगले अधिकतम चार हप्तासम्म आयात प्रतिबन्ध अस्थायी रूपमा निलम्बन गर्न सक्ने व्यवस्था पनि गरिएको छ।

साइप्रसका ऊर्जा, वाणिज्य तथा उद्योग मन्त्री माइकल डेमियानोसले यो निर्णयले युरोपेली ऊर्जा बजारलाई थप सुदृढ बनाउँदै स्वायत्त ऊर्जा युनियनतर्फ उन्मुख गराउने बताएका छन्।

यसैबीच, आयोगले सन् २०२७ को अन्त्यसम्ममा रूसी तेल आयातलाई पनि चरणबद्ध रूपमा समाप्त गर्ने कानूनी प्रस्ताव ल्याउने योजना बनाएको जनाएको छ।

युरोपेली संसदकी अध्यक्ष रोबर्टा मेत्सोलाले सामाजिक सञ्जाल ‘एक्स’ मार्फत रूसी ग्यासमा प्रतिबन्धसम्बन्धी कानूनमा हस्ताक्षर भइसकेको जानकारी दिँदै यसले युरोपको ऊर्जा आपूर्ति नियन्त्रण र रणनीतिक स्वायत्ततालाई थप मजबुत बनाउने उल्लेख गरेकी छन्।

हालैका वर्षहरूमा युरोपेली सङ्घमा रुसबाट हुने ग्यास र तेल आयात उल्लेखनीय रूपमा घट्दै आएको छ। विद्यमान प्रतिबन्ध व्यवस्थाको प्रभावस्वरूप सन् २०२५ मा रूसी तेल आयात तीन प्रतिशतभन्दा तल झरेको भए पनि ग्यास आयात अझै करिब १३ प्रतिशत रहेको छ, जसको वार्षिक मूल्य १५ अर्ब युरोभन्दा बढी हुने अनुमान गरिएको छ।

ईयूले यस अवस्थाले व्यापार र ऊर्जा सुरक्षामा उच्च जोखिम निम्त्याउन सक्ने भन्दै दीर्घकालीन ऊर्जा आत्मनिर्भरतामा जोड दिएको छ।

प्रकाशित मिति: १३ माघ २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com