काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको छ। निर्वाचन घोषणा भएयता विभिन्न आशंका र अनिश्चितताबीच अघि बढेको तयारी अहिले भने सुनिश्चिततातर्फ उन्मुख देखिएको छ। निर्वाचन सम्पन्न गराउने जिम्मेवारी पाएको सरकारले यसलाई उच्च प्राथमिकतामा राख्दै काम गरिरहेको छ, जसका कारण मुलुक नै निर्वाचनमय बनेको छ। संघीय राजधानी काठमाडौं पनि यसबाट अछुतो रहन सकेको छैन।

काठमाडौं देशकै सबैभन्दा बढी निर्वाचन क्षेत्र भएको जिल्ला हो। यहाँ १० वटा प्रतिनिधिसभा निर्वाचन क्षेत्र छन् र प्रत्येक निर्वाचनमा यी क्षेत्रको राजनीतिक महत्व विशेष रहने गर्छ। यसपटक पनि राजनीतिक दलहरू काठमाडौंका सबै निर्वाचन क्षेत्रमा आफ्नो प्रभाव जमाउन सक्रिय छन्। जेन–जी आन्दोलनको प्रभावका कारण यो निर्वाचन अझ चासोको विषय बनेको छ।

advertisement

यस निर्वाचनको एउटा उल्लेखनीय पक्ष भनेको काठमाडौंका अधिकांश निर्वाचन क्षेत्रमा महिला मुख्य निर्वाचन अधिकृतको जिम्मेवारी दिइनु हो। सरकारले महिलाप्रति देखाएको विश्वासलाई सकारात्मक रूपमा लिनुपर्ने काठमाडौं निर्वाचन क्षेत्र नम्बर ३ की मुख्य निर्वाचन अधिकृत चमिला भट्टराई बताउँछिन्।
उनका अनुसार, “काठमाडौं जस्तो ठूलो र संवेदनशील जिल्लामा महिलालाई जिम्मेवारी दिनु विश्वासको संकेत हो। हामीले त्यो भरोसालाई इमानदारी र निष्पक्षताका साथ पूरा गरिरहेका छौँ।”

महालेखा नियन्त्रक कार्यालयकी निर्देशकसमेत रहेकी भट्टराई महिलाले अवसर पाए जिम्मेवारीपूर्वक काम गर्ने बताउँछिन्। महिला नेतृत्वको विशेषता रूपमा उनी व्यवहारमा शालीनता, संवादमा मिठास र सहनशीलता रहेको धारणा राख्छिन्। स्थानीय तहको निर्वाचनमा समेत मुख्य भूमिका निर्वाह गरिसकेकी भट्टराई भन्छिन्, “कहिलेकाहीँ आक्रोशित भएर आउनेहरू पनि महिलाको उपस्थितिमा शान्त हुन्छन्। त्यो अनुभवले मलाई अझ परिपक्व बनाएको छ।”

त्यस्तै, महान्यायाधिवक्ताको कार्यालयकी उपन्यायाधिवक्ता शान्ति न्यौपाने काठमाडौं क्षेत्र नम्बर २ की मुख्य निर्वाचन अधिकृतको जिम्मेवारीमा छिन्। उनले निर्वाचनलाई सभ्य, शान्त र निष्पक्ष वातावरणमा सम्पन्न गराउनु आफ्नो प्रमुख दायित्व रहेको बताइन्। पारिवारिक जिम्मेवारीसँगै व्यावसायिक कर्तव्यलाई कुशलतापूर्वक निर्वाह गर्दै आएको उनको भनाइ छ।

निर्वाचन आयोगका अनुसार काठमाडौं–४ मा उच्च सरकारी वकिल कार्यालय पाटनकी उपन्यायाधिवक्ता कृष्णा भण्डारी, काठमाडौं–५ मा कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयकी उपसचिव श्रद्धा रिजाल मुख्य निर्वाचन अधिकृतको रूपमा कार्यरत छन्।
त्यसैगरी काठमाडौं–६ मा चपला पोखरेल, काठमाडौं–७ मा सविता शर्मा, काठमाडौं–८ मा रक्षा मन्त्रालयकी उपसचिव सम्झना खनाल, काठमाडौं–९ मा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयकी उपसचिव मेनुका घिमिरे र काठमाडौं–१० मा सर्वोच्च अदालतकी उपरजिस्ट्रार अमृताकुमारी शर्मा मुख्य निर्वाचन अधिकृत नियुक्त छन्।

काठमाडौं बाहिर पनि विभिन्न निर्वाचन क्षेत्रमा महिला नेतृत्वलाई प्राथमिकता दिइएको छ। पर्सा–४ मा नुतन झा, सिन्धुली–१ मा निमा घिमिरे, नवलपरासी (बर्दघाट)–२ मा सीता अधिकारी, नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)–१ मा इन्दुदेवी न्यौपाने र कास्की–१ मा सीता रेग्मी मुख्य निर्वाचन अधिकृतको भूमिकामा छन्।

त्यसैगरी मकवानपुर–१ मा न्यायाधीश गीता श्रेष्ठ, सिन्धुपाल्चोक–२ मा न्यायाधीश रीताकुमारी बख्रेल, बागलुङ–१ मा न्यायाधीश सीता शर्मा अधिकारी, भक्तपुर–२ मा राधिका सुवाल, ललितपुर–१ मा इशा सुवेदी र ललितपुर–२ मा सम्झना सिम्खडा पुडासैनी मुख्य निर्वाचन अधिकृतको रूपमा कार्यरत छन्।

महिला नेतृत्वको उल्लेखनीय सहभागितासहित आगामी निर्वाचनलाई निष्पक्ष, मर्यादित र विश्वसनीय बनाउने दिशामा राज्य संयन्त्र सक्रिय देखिएको छ।

प्रकाशित मिति: १३ माघ २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com