काठमाडौं । नेपाली कांग्रेसले सुशासन र आर्थिक विकासलाई प्रमुख प्राथमिकतामा राख्दै आगामी निर्वाचनका लागि घोषणापत्र तयार गर्ने जनाएको छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा मंगलबार आयोजित पत्रकार सम्मेलनमार्फत कांग्रेसले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै भिजन–१० समेटिएको घोषणापत्र ल्याउने जानकारी दिएको हो।

पार्टी प्रवक्ता देवराज चालिसेले घोषणापत्र केवल आकांक्षा र प्रतिबद्धतामा सीमित नहुने स्पष्ट पार्दै स्रोत व्यवस्थापनका उपायसमेत समेटिने बताए। उनले पार्टीका तल्ला निकायहरूसँग सुझाव संकलन गरेर गर्न सकिने, व्यवहारिक र कार्यान्वयनयोग्य कार्यक्रमहरू घोषणापत्रमा समावेश गरिने जानकारी दिए।

advertisement

‘हरेक नागरिकको मन छुने, सबै वर्ग, क्षेत्र र समुदायको भावना समेट्ने प्रयास हुनेछ,’ चालिसेले भने, ‘स्थिरता, उत्तरदायित्व र समावेशी विकासको स्पष्ट खाका जनतासामु प्रस्तुत गरिनेछ।’
कांग्रेसले सबै १६५ वटै निर्वाचन क्षेत्रमा उम्मेदवार उठाएको र तीमध्ये १०६ जना नयाँ उम्मेदवार रहेको पनि उनले जानकारी दिए। साथै, बागी तथा विद्रोही उम्मेदवारी दिएका नेता–कार्यकर्तालाई उम्मेदवारी फिर्ता लिन पार्टीले निर्देशन दिएको र धेरै स्थानमा फिर्ता भइसकेको उनले बताए।

निर्वाचन आचारसंहिता पूर्ण रूपमा पालना गर्ने प्रतिबद्धता जनाउँदै चालिसेले राष्ट्रिय झन्डाको मर्यादा र सम्मान कायम गर्न सबै नेता तथा कार्यकर्तालाई निर्देशन दिइसकिएको बताए।

कांग्रेस नेता डा. शेखर कोइरालाले पार्टीभित्रका नेता तथा कार्यकर्ताको भावना र चाहनाअनुसार आफू प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनेको बताएका छन्। पार्टीको विशेष तथा नियमित महाधिवेशनको विषयमा अन्योल बढिरहेका बेला उम्मेदवार नबन्ने तयारीमा रहेका कोइराला अन्तिम समयमा विराटनगर पुगेर मनोनयन दर्ता गराएका थिए।

मंगलबार पत्रकारहरूसँग कुरा गर्दै उनले भने, ‘कसैले चुनाव लड्न भने, कसैले नलड्न। सबै पार्टीभित्रकै साथीहरू थिए। माघ ६ गते बिहान साढे ९ बजेसम्म त म यत्तिकै बसेको थिएँ। पछि संसदीय बोर्डका साथीहरूसँग संवाद भयो र चुनाव लड्ने निष्कर्षमा पुगेँ।’
टिकट वितरणमा केही समस्या सधैं रहने स्वीकार गर्दै उनले प्रकाशमान सिंह र डा. शशांक कोइरालालाई उम्मेदवार बनाउन नसकिएकोमा दुःख लागेको बताए। कांग्रेसको आन्तरिक राजनीतिमा प्रवेश गर्न नचाहेको जनाउँदै उनले सबैको ध्यान अब फागुन २१ गतेको निर्वाचनमा केन्द्रित रहेको बताए।

मोरङ–६ बाट उम्मेदवार बनेका कोइरालाले पार्टीका नेता तथा कार्यकर्तासँग भेटघाट र घरदैलो अभियानलाई निरन्तरता दिएको जानकारी दिए। उनले व्यक्तिव्यक्तिबीच होइन, दलका उम्मेदवारहरूबीच प्रतिस्पर्धा हुने उल्लेख गर्दै भने, ‘हामी सबै दलका उम्मेदवार हौं, एकअर्काबीच प्रतिस्पर्धा हुन्छ।’

विगतमा घरदैलो अभियान प्रभावकारी भए पनि अहिले डिजिटल प्रचारले मतदातालाई बढी प्रभावित गरिरहेको उनले बताए। निर्वाचन परिणामबारे पत्रकारको प्रश्नमा उनले स्पष्ट रूपमा भने, ‘जित्नकै लागि त उठेको हुँ।’पार्टीको विशेष महाधिवेशनबाट गगनकुमार थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाइएको विषयमा राखिएको जिज्ञासामा उनले फागुन २१ गते प्रतिनिधिसभा निर्वाचन सम्पन्न भएपछि पार्टीको विधान र संसदीय दलले आवश्यक निर्णय लिने बताए।

प्रकाशित मिति: १३ माघ २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com