काठमाडौं। काठमाडौँको माइतीघर मण्डलामा विभिन्न ६ बुँदे माग राख्दै विगत ९ दिनदेखि आमरण अनसनमा रहेका जेनजी अभियन्ता अजय सोडारीको स्वास्थ्य अवस्था गम्भीर भएपछि उनलाई आज वीर अस्पतालमा भर्ना गरिएको छ।
लगातार नौ दिनसम्म अनसन जारी रहँदा समेत सरकारबाट कुनै चासो नदेखिएको जेनजी युनाइटेडले जनाएको छ। अनसनकै क्रममा स्वास्थ्य अवस्था बिग्रँदै गएपछि उनलाई अस्पताल भर्ना गर्नुपरेको हो।
वीर अस्पतालमा उपचाररत सोडारीको अवस्था अत्यन्तै सिकिस्त रहेको अस्पताल स्रोतले जनाएको छ। चिकित्सक डा. जगत विकका अनुसार स्वास्थ्यमा जटिलता देखिएपछि तत्काल अस्पताल भर्ना गरी उपचार सुरु गरिएको हो।
जेनजी युनाइटेडका संयोजक सुजन पौडेलले सरकार युवा तथा जेनजी आन्दोलनका मागप्रति संवेदनशील नदेखिएको आरोप लगाउँदै सरकारको व्यवहारलाई “मानवीय संवेदनाहीन” भएको टिप्पणी गरेका छन्।
अभियन्ता सोडारी माइतीघर मण्डलामा ६ बुँदे मागसहित अनसनमा बस्दै आएका थिए। उनका प्रमुख मागहरू यसप्रकार छन्—
-
निर्वाचन गतिविधि तत्काल रद्द गरी सर्वपक्षीय सरकार गठनमार्फत देशलाई दिगो निकास दिनु।
-
जेनजी आन्दोलनका क्रममा पक्राउ परेका व्यक्तिहरूको तत्काल रिहाइ तथा दोषीमाथि कडा कारबाही।
-
भ्रष्टाचार अभियोग लागेका सबै व्यक्तिमाथि निष्पक्ष छानबिन र कारबाहीको सुनिश्चितता।
-
प्रत्यक्ष कार्यकारी प्रधानमन्त्री प्रणाली लागू गर्नु।
-
संविधान संशोधन वा पुनःलेखनमार्फत राज्य पुनर्संरचना गर्नु।
-
विदेशमा रहेका नेपाली नागरिकलाई मतदान अधिकार सुनिश्चित गर्नु।
प्रकाशित मिति: १४ माघ २०८२, बुधबार













प्रतिक्रिया