काठमाडौं। नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा (माओवादी)लाई कम्युनिष्ट एकता प्रक्रियामा सहभागी हुन आग्रह गरेका छन्।

बुधबार पार्टी कार्यालय पेरिसडाँडामा आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै संयोजक दाहालले कम्युनिष्ट आन्दोलनलाई सुदृढ बनाउन आजको अवस्थामा एकता अपरिहार्य रहेको बताए। उनले विप्लव नेतृत्वको पार्टीलाई आत्मसमीक्षा गर्दै मूलधारमा फर्किन आह्वान गरे।

advertisement

समाजवादी मोर्चाको समयदेखि नै एकताका लागि गम्भीर संवाद र छलफल हुँदै आएको उल्लेख गर्दै दाहालले पछिल्लो चरणमा एकता लगभग टुंगिएको जस्तो देखिए पनि अन्ततः सफल हुन नसकेको बताए।

जेनजी आन्दोलनपछि विप्लव पक्ष वैचारिक अन्योल र विचलनतर्फ गएको टिप्पणी गर्दै दाहालले मुख्य नेतृत्व नै ‘ठूलो भुमरीमा परेको जस्तो’ आफूलाई लागेको बताए। उनले आफूहरूले पनि आत्मसमीक्षा गरेर एकताको बाटो रोजेको उल्लेख गर्दै विप्लव पक्षका लागि अझै अवसर बाँकी रहेको बताए।

“वास्तविक घर यही हो। यताउता भौँतारिएर केही हुनेवाला छैन,” भन्दै दाहालले आत्मसमीक्षा गरी एकताको प्रक्रियामा आए पुनः स्वागत गर्न आफूहरू तयार रहेको स्पष्ट पारे।

संयोजक दाहालले कम्युनिष्ट शक्तिहरू एक भएर अघि नबढे देश दुर्घटनातर्फ जान सक्ने चेतावनीसमेत दिए। निर्वाचन नजिकिँदै गरेको सन्दर्भ उल्लेख गर्दै उनले विचार मिल्ने सबै शक्तिलाई एकता प्रक्रियामा आउन आग्रह गरे।

प्रकाशित मिति: १४ माघ २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com