युक्रेन। युक्रेनमा भएको पछिल्लो रूसी आक्रमणमा कम्तीमा तीन जनाको मृत्यु भएको छ भने अन्य धेरै जना घाइते भएका छन् भनी युक्रेनी अधिकारीहरूले बुधबार जानकारी दिएका छन्।
अधिकारीहरूका अनुसार यो आक्रमण मङ्गलबार रेललाई लक्षित गरी गरिएको ड्रोन आक्रमणमा पाँच यात्रुसहित देशभर कम्तीमा १२ जनाको ज्यान गएको केही घण्टापछि भएको हो।
किएभ क्षेत्रको बिलोगोरोद्स्का समुदायमा भएको आक्रमणमा एक पुरुष र एक महिलाको मृत्यु भएको किएभ क्षेत्रीय सैन्य प्रशासनका प्रमुख माइकोला कलाश्निकले टेलिग्राममार्फत जनाएका छन्। युक्रेन प्रहरीले मृत दम्पतीको चार वर्षीय बालकसहित अन्य तीन जना घाइते भएको जानकारी दिएको छ।
यसैगरी, मध्य ड्निप्रोपेट्रोभस्क क्षेत्रमा गरिएको ड्रोन आक्रमणमा एक व्यक्तिको मृत्यु हुनुका साथै पाँच जना घाइते भएको क्षेत्रीय सैन्य प्रशासनका प्रमुख ओलेक्सान्डर गान्जमले बताएका छन्।
युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले यस्ता बमबारीले शान्ति प्रयासलाई कमजोर बनाइरहेको भन्दै युद्ध अन्त्यका लागि मस्कोमाथि थप दबाब दिन अन्तर्राष्ट्रिय सहयोगीहरूलाई आग्रह गरेका छन्।
अमेरिकी मध्यस्थतामा गत हप्ता संयुक्त अरब इमिरेट्समा रूस र युक्रेनी वार्ताकारहरूबीच द्वन्द्व अन्त्यका लागि छलफल भएको भए पनि अत्यधिक चिसो र जाडोको समयमा युक्रेनलाई ऊर्जा अभावमा पार्ने उद्देश्यले घातक आक्रमणहरू जारी रहेको जनाइएको छ।
जेलेन्स्कीका अनुसार वार्ताको अर्को चरण आगामी फेब्रुअरी १ मा हुने अपेक्षा गरिएको छ।
प्रकाशित मिति: १४ माघ २०८२, बुधबार












प्रतिक्रिया