काठमाडौं । राष्ट्रियसभाको आजको बैठकमा सदस्यहरूले अन्तरिम सरकारमा कतिपय मन्त्री चुनावी मैदानमा होमिएका भन्दै टिप्पणी गरेका छन् ।

बैठकमा विशेष समयमा सांसदहरूले वर्तमान अन्तरिम सरकारका चार जना मन्त्रीले जिम्मेवारी छाडेर प्रतिनिधिसभा सदस्यको निर्वाचनमा उम्मेदवारी दिएको विषयमा असन्तुष्टि जनाएका हुन् ।

advertisement

गत २३ र २४ भदौमा भएको जेनजी आन्दोलनपछि पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा बनेको मन्त्रिपरिषद्का चार जना मन्त्रीले राजीनामा दिई निर्वाचनमा उम्मेदवार दिइसकेका छन् । यसले सरकारको नैतिकतामाथि प्रश्न उठ्नसक्ने भन्दै असन्तुष्टि जनाएका हुन् ।

सांसद नारायणदत्त भट्टले नागरिक सरकार गठन हुँदाको विश्वासअनुसार कार्यसम्पादन हुनुपर्नेमा त्यसो हुन नसकेको धारणा राखे । नागरिक सरकारमा बसेरै निर्वाचनको उम्मेदवार बन्नु आपत्तिजनक भएको भन्दै उनले सत्ताका लागि मात्रै राजनीति गर्ने प्रवृत्तिको आलोचना गरे ।

सांसद विष्णुकुमारी सापकोटाले जेनजी आन्दोलनका सहिदहरूको स्मरण गर्दै शान्तिसुरक्षामा सुरक्षा निकायको भूमिका थप प्रभावकारी हुनुपर्नेमा जोड दिए । निर्वाचन घोषणा भएपछि नैतिक जिम्मेवारीबाट पन्छिँदै मन्त्रीहरूले राजीनामा दिई दलका झण्डा बोकेर चुनावी मैदानमा जानु अनुचित भएको उनको भनाइ छ ।

सांसद सुमित्रा बिसीले छ महिनाभित्र चुनाव गराउने प्रतिबद्धतासहित आएको सरकारले बीचमा जिम्मेवारी छाड्नु गैरजिम्मेवारीपूर्ण भएको धारणा राखे । उनले मन्त्रीहरूले सम्पत्ति विवरण सार्वजनिक नगरेको विषयमा पनि सरकारको ध्यानाकर्षण गराए ।

सांसद श्रीकृष्णप्रसाद अधिकारीले आगामी निर्वाचनलाई निष्पक्ष, धाँधलीरहित र शान्तिपूर्ण बनाउन सरकारसँग आग्रह गरे । सांसद मायाप्रसाद शर्माले प्रतिनिधिसभा सदस्य निर्वाचनलाई धाँधलीरहित, शान्तिपूर्ण र निष्पक्ष बनाउन जोड दिए । उनले सरकारले राष्ट्रिय गौरवका आयोजनाका बजेट रोक्का गर्न नहुने धारणा राखे । उनले संसद् विघटनपछि सभा सञ्चालनका लागि पहल गरेकामा सभाध्यक्षप्रति आभार पनि व्यक्त गरे ।

सांसद भुवनबहादुर सुनारले संसद्ले बनाएको बजेट सरकारले रोक्न नहुने धारणा राखे । वर्तमान सरकार सुशासन र भ्रष्टाचार नियन्त्रणमा केन्द्रित हुनुपर्नेमा जोड दिए ।

प्रकाशित मिति: १४ माघ २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com