काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको तयारीस्वरूप मतदाता शिक्षाका लागि आवश्यक नमुना मतपत्र सबै जिल्लामा पुगेको निर्वाचन आयोगले जनाएको छ।
आयोगका सहसचिव तथा प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार कुल १० लाख ९८ हजार २०० नमुना मतपत्र छपाइ भई मतदाता शिक्षाका लागि सबै जिल्लामा वितरण भइसकेको छ। पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीअन्तर्गत हुम्ला, कालीकोट, जुम्ला, मुगु र डोल्पा जिल्लाका लागि मतपत्र छपाइ कार्य सम्पन्न भइसकेको उनले जानकारी दिए।
अन्य जिल्लाका मतपत्र भने क्रमशः छपाइ भइरहेको आयोगले जनाएको छ। यही माघ २५ गतेदेखि फागुन ५ गतेसम्म १६५ वटै निर्वाचन क्षेत्रमा मतपत्र ढुवानी गर्ने योजना रहेको प्रवक्ता भट्टराईले बताए।
यसैगरी, समानुपातिक निर्वाचन प्रणालीतर्फका करिब दुई करोडभन्दा बढी मतपत्रको छपाइ कार्य पनि सम्पन्न भइसकेको निर्वाचन आयोगले जनाएको छ।
प्रकाशित मिति: १४ माघ २०८२, बुधबार













प्रतिक्रिया