धनुषा। मधेस प्रदेशको राजनीतिक परिदृश्य यसपटक केही फरक देखिएको छ। आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि दर्ता भएका उम्मेदवारहरूको सूचीले देशभर पछिल्लो समय देखिएको ‘जेन जेड’ (नयाँ पुस्ता) को राजनीतिक चेतनालाई आंशिक रूपमा प्रतिबिम्बित गरेको छ।
विशेषगरी गत भदौमा भएको नवयुवा आन्दोलनपछि राजनीतिमा युवाको प्रत्यक्ष संलग्नता बढेको देखिन्छ। यसको प्रभाव मधेस प्रदेशमा पनि देखिन थालेको छ। यद्यपि, जेन जेड अभियानकर्मीहरू भने यो प्रतिनिधित्व पर्याप्त नभएको बताउँछन्। उनीहरूको भनाइमा उम्मेदवार सूचीमा केही युवाको उपस्थिति सकारात्मक भए पनि पहुँच र प्रभाव भएका व्यक्तिहरू नै अझै प्राथमिकतामा परेका छन्।
यसअघि समानुपातिक प्रणालीतर्फ विभिन्न राजनीतिक दलहरूले सार्वजनिक गरेका सूचीमा पनि जेन जेड आन्दोलनको भावना झल्किए तापनि अधिकांश उम्मेदवार पुरानै राजनीतिक संरचनासँग जोडिएका थिए।
निर्वाचन आयोगका अनुसार मधेस प्रदेशबाट प्रतिनिधिसभा निर्वाचनमा जेन जेड पुस्ताका ५८ जना उम्मेदवार मैदानमा छन्। तीमध्ये दुई महिला र ५६ पुरुष छन्। उम्मेदवारमध्ये ४१ जना स्वतन्त्र रहेका छन् भने १७ जना १२ वटा राजनीतिक दलबाट उम्मेदवार बनेका हुन्।
संख्यात्मक रूपमा सीमित भए पनि मधेसको राजनीतिक इतिहासका दृष्टिले युवाको यो सहभागिता महत्त्वपूर्ण मानिएको छ। उज्यालो नेपाल पार्टी र जनमत पार्टीले तीन–तीन जना जेन जेड उम्मेदवार खडा गरेका छन् भने श्रम संस्कृति पार्टीले दुई जनालाई उम्मेदवार बनाएको छ।
त्यसैगरी नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेकपा, आम जनता पार्टी, जनअधिकार पार्टी, जनता लोकतान्त्रिक पार्टी नेपाल, नेपाल मजदुर किसान पार्टी र नेपालका लागि नेपाली पार्टीले एक–एक जना जेन जेड उम्मेदवारलाई मैदानमा उतारेका छन्।
उज्यालो नेपाल पार्टीले सिरहा–३ बाट २६ वर्षीय श्रवण पासवान, महोत्तरी–१ बाट २८ वर्षीय मनोजकुमार गुप्ता र रौतहट–२ बाट २५ वर्षीय रामाकान्तप्रसाद पटेललाई उम्मेदवार बनाएको छ।
जनमत पार्टीले महोत्तरी–१ बाट २७ वर्षीय वीरेन्द्र महतो, रौतहट–२ बाट २८ वर्षीय सोनु कुशवाहा र रौतहट–४ बाट २८ वर्षीय रामकल्याण राउतलाई उम्मेदवार बनाएको छ।
श्रम संस्कृति पार्टीले सिरहा–४ बाट २६ वर्षीय पङ्कजकुमार ठाकुर र पर्सा–१ बाट २८ वर्षीय वसिम शेषलाई उम्मेदवार बनाएको छ।
नेकपा एमालेले सर्लाही–४ बाट २७ वर्षीय अमनिशकुमार यादवलाई उम्मेदवार बनाएको छ। सो क्षेत्रबाट नेपाली कांग्रेसका सभापति गगन थापा, राष्ट्रिय स्वतन्त्र पार्टीका नेता एवं पूर्व सांसद अमरेश सिंहलगायतका प्रभावशाली उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन्।
राष्ट्रिय स्वतन्त्र पार्टीले सिरहा–१ बाट २८ वर्षीय बब्लु गुप्ता, नेकपाले बारा–४ बाट २७ वर्षीय अजय कुशवाहा, राष्ट्रिय प्रजातन्त्र पार्टीले सप्तरी–२ बाट २७ वर्षीय अजयकुमार दास र नेपाल मजदुर किसान पार्टीले सोही क्षेत्रबाट निलम कुमारी यादवलाई उम्मेदवार बनाएको छ।
समाजशास्त्री नीलबहादुर लुम्रेका अनुसार यी युवा उम्मेदवारको साझा विशेषता भनेको पुरानो राजनीतिक शैलीप्रति असन्तुष्टि र नयाँ सोचसहितको हस्तक्षेप हो। सुशासन, रोजगारी, शिक्षा, स्वास्थ्य र स्थानीय विकासलाई प्रमुख एजेन्डा बनाएर सामाजिक सञ्जाल, प्रत्यक्ष भेटघाट र सामुदायिक छलफलमार्फत मतदातासँग जोडिनु परम्परागत राजनीतिभन्दा फरक अभ्यास भएको उनको भनाइ छ।
राजनीतिक विश्लेषक शंकर महतोका अनुसार जेन जेड उम्मेदवारको उपस्थिति जित–हारभन्दा पनि दीर्घकालीन रूपमा राजनीतिक संस्कार परिवर्तनको संकेत हो। “यी युवाले चुनाव जिते वा नजिते पनि उनीहरूको सहभागिताले आगामी निर्वाचनमा अझ धेरै युवालाई राजनीतिमा आउन प्रेरित गर्नेछ,” उनले बताए।
प्रकाशित मिति: १५ माघ २०८२, बिहिबार













प्रतिक्रिया