रौतहट । नेकपा एमाले रौतहटले पार्टी अनुशासन उल्लङ्घन गरेको आरोपमा पाँच जना नेता–कार्यकर्तामाथि कारबाही गरेको छ। बिहीबार गरुडास्थित पार्टी कार्यालयमा बसेको जिल्ला कमिटी बैठकले उक्त निर्णय गरेको हो।
कारबाहीमा पर्नेहरूमा एक निर्वाचित वडाध्यक्ष र एक वडा सदस्यसमेत रहेका छन्। बैठकले उनीहरूलाई पदबाट हटाउने गरी निर्वाचन आयोगमा सिफारिस गर्ने निर्णय गरेको छ।
कारबाहीको सिफारिस गरिएकामा नेकपा एमाले मधेश प्रदेश कमिटी सदस्य असु सिंह, उनका श्रीमान् तथा पछिल्लो महाधिवेशनमा केन्द्रीय सदस्य पदमा पराजित बबन सिंह, युवा सङ्घ नेपाल रौतहटका जिल्ला संयोजक मुन्ना यादव, गरुडा नगरपालिका वडा नं–५ का वडाध्यक्ष रामबाबु चौधरी तथा चन्द्रपुर नगरपालिका वडा नं–४ की वडा सदस्य प्रेमकुमारी तिमल्सिना रहेका छन्।
विशेषतः वडाध्यक्ष चौधरी र वडा सदस्य तिमल्सिनालाई पदबाट हटाउने गरी निर्वाचन आयोगमा सिफारिस गर्ने निर्णय गरिएको नेकपा एमाले रौतहटका सचिव बाबुराम दाहालले जानकारी दिए।
सचिव दाहालका अनुसार उनीहरूले पार्टी हितविपरीत गतिविधि गरेको पुष्टि भएपछि सम्बन्धित निकायमा कारबाहीका लागि सिफारिस गर्ने निर्णय गरिएको हो। पार्टी अनुशासन र संगठनात्मक मर्यादाविपरीत कार्य गर्ने जो–कोहीलाई पनि छुट नदिइने स्पष्ट सन्देश दिनका लागि उक्त कदम चालिएको उनले बताए।
प्रकाशित मिति: १५ माघ २०८२, बिहिबार













प्रतिक्रिया