काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्युबालाई तेल आपूर्ति गर्ने देशहरूमाथि भन्सार दर बढाउने चेतावनी दिएका छन्।
बिहीबार ह्वाइट हाउसमा पत्रकारहरूसँगको कुराकानीमा राष्ट्रपति ट्रम्पले क्युबालाई तेल उपलब्ध गराउने देशहरूलाई लक्षित गर्दै भन्सार वृद्धि गर्न सकिने बताएका हुन्। तर, कुन देशमाथि कति प्रतिशत भन्सार बढाइने भन्ने विषयमा भने उनले स्पष्ट खुलाएका छैनन्। अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार ट्रम्पको चेतावनी कूटनीतिक दबाबको रणनीतिका रूपमा आएको हो।
क्युबालाई हालसम्म मुख्य रूपमा भेनेजुएलाले तेल आपूर्ति गर्दै आएको थियो। त्यसबाहेक रूस र मेक्सिको पनि क्युबाका महत्वपूर्ण तेल आपूर्तिकर्ता देश हुन्। तर पछिल्लो समय भेनेजुएलाको आर्थिक अवस्था कमजोर बन्दै जाँदा क्युबामा हुने तेल आपूर्ति प्रभावित हुँदै आएको छ।
गत महिना अमेरिकाले भेनेजुएलामा सैन्य कारबाही गरी राष्ट्रपति निकोलस मदुरोलाई अपहरण गरेर न्युयोर्क ल्याएको थियो। त्यस घटनापछि मदुरोको सरकार सत्ताच्युत भएको र भेनेजुएलाबाट क्युबालाई प्राप्त हुँदै आएको तेल तथा आर्थिक सहयोग बन्द भएको अमेरिकी राष्ट्रपति ट्रम्पले दाबी गरेका थिए।
मदुरो सरकार पतनपछि राष्ट्रपति ट्रम्पले क्युबाको कम्युनिस्ट सरकार पनि चाँडै असफल हुने अभिव्यक्ति दिएका थिए। वामपन्थी विचारधाराका सरकारहरूलाई निशानामा राख्दै आएको अमेरिकाको ध्यान अब क्युबातर्फ केन्द्रित हुन सक्ने विश्लेषण अन्तर्राष्ट्रिय राजनीतिका जानकारहरूले गरेका छन्।
क्युबाली आप्रवासीका सन्तान रहेका अमेरिकी विदेशमन्त्री मार्को रूबिओ लामो समयदेखि क्युबाको कम्युनिस्ट शासनप्रति कडा आलोचक रहँदै आएका छन्। उनको प्रभावले पनि क्युबाप्रति अमेरिकी नीति थप आक्रामक बन्ने सम्भावना देखिएको छ।
अमेरिकी नाकाबन्दीका कारण लामो समयदेखि आर्थिक संकटमा रहेको क्युबालाई भेनेजुएलाले सहुलियत तथा प्रायः निःशुल्क तेल आपूर्ति गर्दै आएको थियो। तर पछिल्लो दशकमा भेनेजुएला आफै गम्भीर आर्थिक संकटमा फसेपछि तेल उत्पादन र सहयोग दुवै घट्दै गएका छन्।
यसको प्रत्यक्ष असर क्युबाको अर्थतन्त्रमा देखिएको छ। अहिले पनि क्युबाका लागि भेनेजुएलाको सहयोग अत्यन्तै महत्वपूर्ण मानिन्छ। तर मदुरो सरकार सत्ताच्युत भएपछि त्यो सहयोग पूर्ण रूपमा ठप्प भएको जनाइएको छ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार, यो अवस्थाले क्युबाको अर्थतन्त्रलाई झनै गहिरो संकटतर्फ धकेल्न सक्छ र कम्युनिस्ट शासन आफै कमजोर भएर ढल्ने सम्भावना बढ्न सक्छ। त्यति मात्र होइन, भेनेजुएलामा सफलता पाएपछि अमेरिका क्युबामा पनि प्रत्यक्ष हस्तक्षेप गरेर सत्ता परिवर्तन गराउन खोज्न सक्ने खतरा समेत रहेको विश्लेषण गरिएको छ।
प्रकाशित मिति: १६ माघ २०८२, शुक्रबार













प्रतिक्रिया