काठमाडौं । काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले शहीदहरूले देखाएको मार्गचित्रलाई आधार मानेर सबै निकायबीच सहकार्य र समन्वयका साथ एकीकृत योजना बनाई अघि बढ्नुपर्ने आवश्यकता औंल्याएकी छन्।
शहीद दिवसका अवसरमा काठमाडौंमा आयोजित एक कार्यक्रममा सम्बोधन गर्दै कार्यवाहक प्रमुख डंगोलले शहीदहरूको त्याग र बलिदानले देखाएको बाटोमै राष्ट्र अगाडि बढ्नुपर्ने बताइन्। शहीदहरूको बलिदानकै जगमा आज शासन, स्वतन्त्रता र स्वाधीनताको उपयोग सम्भव भएको उनको भनाइ थियो।
उनले विश्वका विभिन्न शासन व्यवस्थामध्ये लोकतान्त्रिक शासन व्यवस्था उत्कृष्ट रहेको उल्लेख गर्दै नेपालमा यसको अभ्यास शहीदहरूको बलिदानकै कारण सम्भव भएको स्पष्ट पारिन्। नागरिक अधिकार, समावेशिता र समावेशीकरणको प्रयोग पनि शहीदहरूको त्यागबाट प्राप्त महत्वपूर्ण उपलब्धि भएको उनले बताइन्।
कार्यवाहक प्रमुख डंगोलले शहीद दिवस युवापुस्तालाई त्याग, समर्पण र राष्ट्रप्रतिको जिम्मेवारी सम्झाउने अवसर भएको उल्लेख गरिन्। शहीदहरूको बलिदानबाट राजनीतिक नेता, कार्यकर्ता र आम नागरिक सबैले प्रेरणा लिनुपर्ने उनको भनाइ थियो।
उनका अनुसार नागरिक अधिकार, समावेशिता र समावेशीकरण शहीदहरूले नेपाल र नेपालीलाई दिएको अमूल्य उपहार हो। शहीदहरूको सम्झना केवल विशेष दिनमा सीमित नगरी उनीहरूको बलिदानबाट ऊर्जा लिएर व्यवस्था र शासन सञ्चालनमा दैनिक रूपमा सकारात्मक प्रभाव देखिने गरी काम गर्नुपर्ने आवश्यकता उनले औंल्याइन्।
प्रकाशित मिति: १६ माघ २०८२, शुक्रबार













प्रतिक्रिया