काठमाडौं । सैनिक मुख्यालय जंगी अड्डा अगाडि बम राखिएको हल्ला फैलाएको आरोपमा पक्राउ परेका व्यक्ति प्रतिनिधि सभा निर्वाचनका उम्मेदवार रहेको खुलेको छ।
प्रहरीका अनुसार सल्यान जिल्लाको साविक खलंगा गाविस–५ स्थायी घर भई हाल काठमाडौं महानगरपालिका–१६ मा बसोबास गर्दै आएका ३० वर्षीय जुद्धबहादुर सिंहलाई उक्त आरोपमा पक्राउ गरिएको हो। उनलाई नेपाली सेनाले नियन्त्रणमा लिएर जिल्ला प्रहरी परिसर काठमाडौंको जिम्मा लगाएको थियो।
सिंहले जंगी अड्डा अगाडिको पेट्रोल पम्प नजिक झोलाभित्र बम राखिएको भन्दै हल्ला फैलाएका थिए। तर सुरक्षाकर्मीले उक्त झोला खोलेर जाँच गर्दा बम नभई इँटा फेला परेको प्रहरीले जनाएको छ।
घटनाबारे अनुसन्धान गर्ने क्रममा सिंह आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका उम्मेदवार रहेको खुलेको काठमाडौं प्रहरी परिसरका एसएसपी रमेश थापाले जानकारी दिए।
उनका अनुसार सिंहले सल्यान निर्वाचन क्षेत्रबाट स्वतन्त्र उम्मेदवारी दिएका छन् र ‘क्यालकुलेटर’ चुनाव चिह्न पाएका छन्। उनी अघिल्लो प्रतिनिधि सभा निर्वाचनमा पनि उम्मेदवार बनेका थिए।
प्रकाशित मिति: १६ माघ २०८२, शुक्रबार













प्रतिक्रिया