एजेन्सी । अमेरिकी सिनेटले सरकारी खर्चसम्बन्धी महत्त्वपूर्ण मतदान अवरुद्ध गरेपछि सङ्घीय सरकार आंशिक रूपमा बन्द हुने सम्भावना बढेको छ। राष्ट्रपति डोनाल्ड ट्रम्पको कडा आप्रवासन नीतिलाई लिएर ह्वाइट हाउस र सिनेट डेमोक्र्याटबीच बढेको गतिरोधका कारण शनिबार मध्यरातपछि सटडाउन सुरु हुने देखिएको छ।

असफल मतदानका कारण सङ्घीय सरकारको तीन चौथाइभन्दा बढी खर्च धान्ने बिल–खर्च प्याकेज रोकिएको छ। संशोधित प्याकेजमा फेरि मतदान गर्ने तयारी भए पनि यसलाई हाउस अफ रिप्रेजेन्टेटिभ्सले पनि पारित गर्नुपर्नेछ। तर प्रतिनिधि सभा सोमबारसम्म विश्राममा रहने भएकाले समयसीमा नाघ्ने निश्चित जस्तो भएको छ।

advertisement

ट्रम्पको प्रशासनको क्रममा यो दोस्रो सरकारी सटडाउन हुने देखिएको छ। यद्यपि अघिल्लो पटकको ४३ दिन लामो बन्दको तुलनामा यसपटक छोटो हुने अपेक्षा गरिएको छ।

डेमोक्र्याटहरूले गृह मन्त्रालयको लागि छुट्टै कोष व्यवस्था र आइस (ICE) तथा सीमा सुरक्षा निकायको कार्यशैलीमा कडा सर्त राख्ने माग गर्दै आएका छन्। सिनेटका डेमोक्र्याट नेता चक शुमरले आइसको गतिविधिलाई राज्यद्वारा स्वीकृत ठगीको संज्ञा दिँदै कङ्ग्रेससँग त्यसलाई रोक्ने नैतिक दायित्व रहेको बताएका छन्।

शुमरले ह्वाइट हाउसले अस्थायी ढाँचामा सहमति दिएको जानकारी दिएको भए पनि अमेरिकी सञ्चारमाध्यमले मतदान शुक्रबारसम्म ढिलाइ भएको जनाएका छन्। ट्रम्पले सामाजिक सञ्जालमार्फत द्विदलीय समर्थन जुटाउन आह्वान गर्दै सम्झौतालाई समर्थन गर्न आग्रह गरेका छन्।

यदि सटडाउन लम्बियो भने लाखौँ सङ्घीय कर्मचारी बिदामा जाने वा तलबबिना काम गर्नुपर्ने अवस्था आउन सक्छ, जसको असर वासिङ्टन बाहिरसम्म फैलिन सक्ने चेतावनी दिइएको छ।

यस विवादलाई आप्रवासन प्रवर्तनसँग सम्बन्धित हालैका हिंसात्मक घटनाले थप चर्काएको छ। मिनियापोलिसमा ट्रम्प प्रशासनको निर्वासन अपरेसन अनुगमन गरिरहेका एक नर्सको सङ्घीय एजेन्टद्वारा गोली हानी हत्या भएपछि कङ्ग्रेसमा बहस तीव्र बनेको हो।

डेमोक्र्याटहरूले रक्षा, स्वास्थ्य, शिक्षा र यातायातलगायतका अन्य खर्च बिलहरू तुरुन्त पारित गर्न तयार रहेको बताएका छन्। तर उनीहरूले डीएचएस (DHS) बिलमा गस्ती, वारेन्ट प्रक्रिया, बल प्रयोगका नियम, शरीर क्यामेरा र पहिचानसम्बन्धी व्यवस्थालाई कडा बनाउन माग गरेका छन्।

ह्वाइट हाउसको प्रस्तावले गृह मन्त्रालयलाई सटडाउन टार्न दुई हप्ताको समय मात्र दिने व्यवस्था गरेको छ। सांसदहरूले भने डिएचएस कोषमा अवरोध आए देशभर कठोर जाडो मौसम फैलिँदै गएको बेला आपतकालीन व्यवस्थापन एजेन्सीहरू प्रभावित हुन सक्ने चेतावनी दिएका छन्।

प्रकाशित मिति: १६ माघ २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com