काठमाडाैं । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले अबको परिवर्तन केवल सत्ता हासिल गर्ने उद्देश्यका लागि नभई नयाँ पुस्ताको उज्जवल र सुनिश्चित भविष्य निर्माणका लागि हुने बताएका छन्।
प्रतिनिधि सभा निर्वाचन, सप्तरी क्षेत्र नं. ३ का उम्मेदवारका रुपमा चुनावी अभियानमा रहेका अध्यक्ष यादवले विभिन्न संघर्षबाट प्राप्त परिवर्तनलाई संस्थागत गर्न विगतको राज्यसत्ताबाट धेरै बेइमानी भएको बताए। उनले देश र जनताको आवश्यकता अनुसार संविधान संशोधन वा पुनर्लेखन गरी नयाँ पुस्ताको भविष्य संविधानमै सुरक्षित हुनुपर्नेमा जोड दिए।
“आजको नेपाल पुरानै संवैधानिक संरचनामा अड्किएको छ, जसले न त स्थायित्व दिएको छ न त न्याय,” उनले भने। जसपा नेपालले सार्वजनिक गरेको प्रतिबद्धता पत्रलाई उद्धृत गर्दै यादवले थपे, “राजनीतिक अस्थिरता, कमजोर संघीयता र पहिचानको अभावले युवा पुस्ताको भविष्य अन्योलमा परेको छ। शासकीय स्वरूप, निर्वाचन प्रणाली र न्याय प्रणालीमा आवश्यक सुधार गर्दै राष्ट्रिय समस्या समाधान गर्न संविधान संशोधन वा पुनर्लेखन अपरिहार्य छ।”
अध्यक्ष यादवले राष्ट्रिय जातीय पहिचान झल्कने गरी राज्य पुनःसञ्चार गर्ने उच्चस्तरीय आयोग २०६८ को प्रतिवेदनअनुसार जातीय पहिचानसहित (१०+१) प्रदेश संरचना लागू गर्न जसपा नेपाल अडिग रहेको बताए।
संघीयता र नयाँ पुस्ताको परिवर्तनको माग विरुद्ध कुनै सम्झौता नहुने भन्दै उनले भने, “संघीयतालाई कागजको होइन, व्यवहारको बनाउने हाम्रो दृढ अडान हो। अबको यो परिवर्तन केवल सत्ताका लागि होइन, नयाँ पुस्ताको सुन्दर भविष्य निर्माणका लागि हो, र त्यसमा हामी दृढ छौँ।”
प्रकाशित मिति: १६ माघ २०८२, शुक्रबार













प्रतिक्रिया