काठमाडौं । न्युरोडको महाङ्कालस्थित सैनिक कल्याणकारी भवन मा लामो समयदेखि भाडासम्बन्धी विवाद चलिरहेको छ। सैनिक कल्याणकारी कोषले जयन्ती निर्माण सेवा प्रालिसँग गरेको लिज करार २०७९ असोजमा भङ्ग गरेपछि सुरु भएको विवाद अहिलेसम्म टुङ्गोमा पुगेको छैन। सो भवनमा हाल एसटीसी होलसेल मार्केट सञ्चालन हुँदै आएको छ।
जयन्ती निर्माण सेवा प्रालिसँगको लिज सम्झौताको सर्त उल्लङ्घन भएको भन्दै संस्कार नारायण भारीले काठमाडौँ जिल्ला अदालतमा रिट दायर गरेका थिए। उक्त रिटमा सुनुवाइ गर्दै न्यायाधीश टेकबहादुर कार्कीले सैनिक कल्याणकारी कोष र जयन्ती निर्माण सेवा प्रालिलाई करार सम्झौता विपरीत हुने गरी कुनै पनि काम नगर्न अन्तरिम आदेश जारी गरेका थिए। जयन्ती र निवेदकबीच २०७८ चैतमा १४ वर्षे लिज सम्झौता भएको थियो।
अदालतको अन्तरिम आदेश कायम रहँदै पनि भवन व्यवस्थापन समितिका लेखापाल नानीराम थापा तथा पूर्व जर्नेलद्वय सुनिल विष्ट र कृष्णदेव भट्टले व्यापारीहरूलाई भवन खाली गर्न दबाब दिएको आरोप व्यवसायीहरूले लगाएका छन्। एसटीसी मार्केटका एक व्यापारीका अनुसार, ‘पूर्वसैनिक अधिकृतहरूबाट निरन्तर भवन छाड्न दबाब आइरहेको छ।’
पूर्वसैनिक अधिकृतहरू सैनिक कल्याणकारी भवन व्यवस्थापन समितिमा आबद्ध रहेका छन्। यसैबीच, व्यवस्थापन समितिले पुरानो सम्झौता तोड्दै मङ्सिर २६ गते नयाँ सम्झौताका लागि शिलबन्दी दरभाउपत्र आह्वान गरेको थियो।
यस निर्णयविरुद्ध अर्का व्यवसायी अस्मिलाल भट्टराईले काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर गरेका छन्। सो रिटमा अन्तरिम आदेश जारी गर्ने वा नगर्ने विषयमा छलफल गर्न अदालतले माघ २२ गते दुवै पक्षलाई बोलाएको छ।
यस विषयमा सैनिक प्रवक्ता (सहायक रथी) राजाराम बस्नेतले अदालतको आदेश विपरीत कुनै काम नभएको दाबी गरेका छन्। उनले भने, ‘कल्याणकारी कोषका जिम्मेवार अधिकारीहरूले व्यापारीहरूलाई अनावश्यक दबाब दिएका छैनन्।’
प्रकाशित मिति: १६ माघ २०८२, शुक्रबार













प्रतिक्रिया