काठमाडाैं । सर्लाही क्षेत्र नम्बर ४ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार डा. अमरेशकुमार सिंहले यसपटकको निर्वाचनमा जीवनकै सबैभन्दा ठूलो मतान्तरसहित जित्ने दाबी गरेका छन्।
आफ्नो निर्वाचन क्षेत्रमा जारी चुनावी प्रचारप्रसारका क्रममा सञ्चारकर्मीहरूसँग कुरा गर्दै सिंहले नेपाली कांग्रेसका सभापति गगनकुमार थापासमेत प्रतिस्पर्धामा रहेको सर्लाही–४ मा आफ्नो जित सुनिश्चित रहेको बताएका हुन्।
चुनावी माहोल तातेको अवस्थामा सिंहले आफूले अहिलेसम्म जितेका निर्वाचनहरूमध्ये सबैभन्दा ठूलो मतान्तरले यसपटक विजय हासिल गर्ने आत्मविश्वास व्यक्त गर्दै मतदातालाई आफूतर्फ आकर्षित गर्ने प्रयास गरेका छन्।
उनले यस निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीले एक्लै १६० सिट जित्ने दाबीसमेत गरे। मधेश प्रदेशका ३२ प्रतिनिधिसभा सिटमध्ये रास्वपाले एक्लै २० सिट जित्ने उनको जिकिर छ। साथै, समानुपातिक तर्फ पनि रास्वपा पहिलो दल बन्ने दाबी उनले गरे।
अहिलेसम्म जिन्दगीमा मैले जति मतान्तरले चुनाव जित्दै आएको छु, त्योभन्दा धेरै मत ल्याएर यसपटक जित्नेमा म पूर्ण रूपमा विश्वस्त छु, सिंहले भने।
डा. सिंहले यस निर्वाचनमा नेपाली कांग्रेसले २० देखि २५ सिट जिते पनि त्यो नै ठूलो उपलब्धि हुने टिप्पणी गरे। उनले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहको नेतृत्वमा रास्वपाले एक्लै १६० सिटभन्दा बढी जित्ने ठोकुवा पनि गरे।
मधेश प्रदेशमा प्रतिनिधिसभाका ३२ सिट छन्, त्यसमध्ये रास्वपाले एक्लै २० सिट जित्छ, उनले भने, “समानुपातिकमा पनि सबैभन्दा बढी मत रास्वपाले ल्याउनेछ। अहिले मधेशी समुदायका लागि सत्ता परिवर्तन आवश्यक भइसकेको छ।
प्रकाशित मिति: १६ माघ २०८२, शुक्रबार













प्रतिक्रिया