काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्र अब कुनै गुट नरहेको दाबी गरेका छन्। धनुषा–१ मा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै उनले कांग्रेस नयाँ सोच र नयाँ शैलीका साथ अघि बढिरहेको बताए।
सभापति थापाले मधेसले पूर्ण विश्वासका साथ कांग्रेसलाई साथ दिए एकमना कांग्रेस सरकार बन्ने दाबीसमेत गरे। उनले पार्टीभित्र गुटको राजनीति समाप्त भएको उल्लेख गर्दै सबै नेता–कार्यकर्तालाई एउटै लक्ष्यका साथ अघि बढ्न आग्रह गरे।
कार्यकर्तालाई सम्बोधन गर्दै उनले भने, “हाम्रो नेतृत्वमा हिजोका असल कुराहरू सम्झेर, गल्तीहरू नदोहोर्याई देशलाई अघि बढाउन राम पल्टन साह, दिनेश कोइराला, विमलेन्द्र निधि र तपाईंको क्षेत्रबाट महेन्द्र यादव सबै जितेर आउनुपर्छ।”
थापाले कांग्रेस अब पुरानै ढर्राको पार्टी नभएको उल्लेख गर्दै फरक सोच र फरक कार्यशैलीका साथ आएको जिकिर गरे। पार्टीका उम्मेदवार एकपटक टुंगिएपछि व्यक्तिगत धारणा गौण हुने भन्दै उनले पार्टी निर्णयको सम्मान गर्न कार्यकर्तालाई निर्देशन दिए।
“पार्टीभित्र कुनै गुट छैन, न अब रहनेछ,” उनले भने, “उम्मेदवार टुंगिएपछि व्यक्तिगत सोचको कुनै अर्थ रहँदैन। छलफल पछि पनि गर्न सकिन्छ, तर अहिले सबै एकताबद्ध भएर काम गर्नुपर्छ।”
उनले भोलिका दिनमा पार्टीका नेताहरूले असहयोग गरेको भन्ने कुरा कतै सुन्न नपरोस् भन्ने अवस्था बनाउन कार्यकर्तासँग आग्रह गरे। कांग्रेस देश जोड्ने शक्ति भएको उल्लेख गर्दै उनले पार्टी ध्वंस वा उत्तेजना फैलाउने राजनीति नगर्ने स्पष्ट पारे।
“हामी ध्वंस गर्ने पार्टी होइनौं, उत्तेजना फैलाउने पार्टी पनि होइनौं,” थापाले भने, “कांग्रेस भनेको सम्हाल्ने शक्ति हो, मिलाउने शक्ति हो, सुधार गर्ने शक्ति हो। यो जानकी माताको भूमि हो, यहाँको प्रत्येक घरमा यही सन्देश पुर्याउनुपर्छ।”
प्रकाशित मिति: १६ माघ २०८२, शुक्रबार













प्रतिक्रिया