कञ्चनपुर ।  सुदूरपश्चिमका पहाडी जिल्लाबाट सुविधा र रोजगारीको खोजीमा तराई झर्ने क्रम तीव्र बन्दै गएको छ। कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा पछिल्ला वर्षहरूमा पहाडबाट बसाइँ सरेर आउनेको सङ्ख्या निरन्तर बढिरहेको देखिएको छ।

पहाडी क्षेत्रमा सडक, शिक्षा र स्वास्थ्यजस्ता आधारभूत पूर्वाधार विस्तार भए पनि पर्याप्त रोजगारी र आर्थिक आत्मनिर्भरताको अभावका कारण तराईमुखी बसाइँसराइ रोकिन नसकेको हो।

advertisement

नगरपालिकाको सूचना तथा प्रविधि शाखाका अनुसार पछिल्ला तीन आर्थिक वर्षमा शुक्लाफाँटामा कूल तीन हजार ४५ जना बसाइँ सरेर आएका छन्। आर्थिक वर्ष २०७९/८० मा एक हजार १२ जना भित्रिएका थिए भने २०८०/८१ मा यो सङ्ख्या घटेर ९३५ मा सीमित भएको थियो। तर चालु आर्थिक वर्ष २०८१/८२ मा पुनः बढेर एक हजार ९८ पुगेको छ।

बसाइँ सरेर आउनेहरू मुख्यतया बजार क्षेत्र तथा बजार विस्तार हुँदै गरेका वडातर्फ केन्द्रित छन्। सूचना तथा प्रविधि शाखा प्रमुख लोगराज भट्टका अनुसार वडा नम्बर ८, १० र ११ मा जनघनत्व तीव्र रूपमा बढिरहेको छ।

वडागत तथ्यांकअनुसार आर्थिक वर्ष २०८१/८२ मा वडा नम्बर ८ मा सबैभन्दा बढी १६४ जना बसाइँ सरेर आएका छन्। त्यसपछि वडा नम्बर ११ मा १३५, वडा नम्बर ७ र ५ मा समान १२५, तथा वडा नम्बर १० मा ११८ जना भित्रिएका छन्। अघिल्लो आर्थिक वर्ष २०८०/८१ मा पनि वडा नम्बर ८ मै सबैभन्दा बढी १९७ जना बसाइँ सरेका थिए।

बसाइँ सर्नेहरूको मूल थलो सुदूरपश्चिमका पहाडी जिल्ला डडेल्धुरा, बैतडी र दार्चुला रहेका छन्। त्यसपछि अछाम, बझाङ र बाजुराबाट आउनेको सङ्ख्या उल्लेख्य छ। बसाइँसराइ गर्नेमा अधिकांश पहाडी समुदायका नागरिक छन् भने आदिवासी थारु समुदायको सहभागिता न्यून देखिएको छ।

यता, नगरपालिकाबाट अन्यत्र बसाइँ सरेर जानेहरूको सङ्ख्या पनि पछिल्लो वर्ष बढेको छ। आर्थिक वर्ष २०७९/८० मा ३८८ र २०८०/८१ मा ३५४ जना बाहिरिएकोमा चालु आर्थिक वर्ष २०८१/८२ मा यो सङ्ख्या बढेर ५२२ पुगेको छ। तथापि, बाहिरिनेको तुलनामा भित्रिनेको सङ्ख्या झण्डै दोब्बर बढी रहेको छ।

नगरपालिकाका प्रवक्ता लालबहादुर ऐरका अनुसार पहाडी क्षेत्रमा आधारभूत सेवा पुगे पनि रोजगारीका अवसर, उद्योगधन्दा र पर्याप्त कृषि आम्दानी नहुँदा बसाइँसराइ बढेको हो।
“पहाडमा विद्यालय, स्वास्थ्य संस्था र सडक पुगेका छन्, तर जीविकोपार्जनका दिगो आधार छैनन्,” उनले भने, “त्यसैले मानिसहरू सहज जीवनयापन र अवसरको खोजीमा बजार र सडक पहुँच भएका क्षेत्रतर्फ आकर्षित भइरहेका छन्।”

उनका अनुसार अव्यवस्थित बसाइँसराइका कारण तराई क्षेत्रमा जनघनत्व बढ्ने, खेतीयोग्य जमिन खण्डीकरण हुने र सहरी सेवामाथि चाप बढ्ने चुनौती थपिँदै गएको छ।

प्रकाशित मिति: १७ माघ २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com