काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले युवा पुस्ताको आवाज सबैभन्दा बढी कांग्रेसले आत्मसात गरेको दाबी गरेका छन्।
शनिबार काठमाडौं निर्वाचन क्षेत्र–५ का मतदातासमक्ष आयोजित भेटघाट कार्यक्रममा बोल्दै महामन्त्री पौडेलले गत भदौ २३ र २४ गतेको आन्दोलनमा उत्पन्न अराजकता मात्र नभई युवा पुस्ताको चाहना र मागलाई कांग्रेसले आत्मसात गरेको बताए।
उनले नागरिक स्वतन्त्रता र सुशासन सबै नेपाली जनताले चाहेको विषय भएको भन्दै, यसमा कुनै बन्देज हुनु नहुने स्पष्ट पारे। भदौ २३ र २४ मा भएको “जेन–जी” आन्दोलनका मुद्दा सबैभन्दा बढी कांग्रेसले आत्मसात गरेको उनको दाबी छ।
महामन्त्री पौडेलले भने, “मैले गत निर्वाचनमा बोलेका सबै कुरा पूरा गर्न नसके पनि कुनै नराम्रो काम गरेको छैन। सरकारमा रहेर समस्या र समाधानका उपायहरू पहिल्यै खोजेको छु। मैले सबै काम गरेको भन्दिनँ, तर केही बिगारेको पनि छैन। कतिपय कुराहरू अनुभवबाट सिकाइन्छ। आज राज्य प्रणालीलाई शत प्रतिशत बुझेको भन्दिनँ, तर सबै पक्षबाट पहिलेभन्दा राम्रोसँग बुझेको छु। सुधार कहाँ आवश्यक छ र समाधान के हो भन्नेमा म स्पष्ट छु।”
उनले आफूले अघि गरेको काम र योगदानलाई स्मरण गर्दै मतदातासँग आगमी निर्वाचनमा विश्वास राखिदिन आग्रह गरे। नयाँ परिस्थितिमा नयाँ निर्णयहरू लिनु आवश्यक भए पनि, परिणाम सकारात्मक खोज्ने दृष्टिकोणकाबीच मात्र परिवर्तन हुने उनको भनाइ थियो।
प्रकाशित मिति: १७ माघ २०८२, शनिबार













प्रतिक्रिया