काठमाडौ । मध्यपहाडी पुष्पलाल लोकमार्ग अन्तर्गत बागलुङ बजारदेखि बिहुँ बयलडाँडासम्मको १३ किलोमिटर सडक खण्डको ठेक्का नौ वर्षपछि रद्द गरी पुनः ठेक्का लगाउने तयारी गरिएको छ। दुई वर्षभित्र कालोपत्र सम्पन्न गर्ने लक्ष्यसहित राष्ट्रिय गौरवको आयोजनाका रूपमा सुरु गरिएको यो सडक तोकिएको समयमै पूरा हुन नसकेपछि पुनः ठेक्का प्रक्रियामा अघि बढाइएको हो।

पर्वतस्थित मध्यपहाडी पुष्पलाल लोकमार्ग आयोजना कार्यालयका अनुसार पटक–पटक म्याद थप्दा पनि निर्माण सम्पन्न नभएपछि ठेक्का रद्द गरी नयाँ ठेक्काका लागि अन्तिम मूल्याङ्कनको काम भइरहेको छ। आयोजना कार्यालयका इन्जिनियर कल्पना मिश्रले निर्माण व्यवसायीको चरम लापरवाहीका कारण २०८२ पुस १७ गते ठेक्का तोडिएको जानकारी दिइन्।

advertisement

उनका अनुसार हालसम्म भएको करिब ८० प्रतिशत प्रगतिका आधारमा निर्माण व्यवसायीलाई दिन बाँकी भुक्तानी तथा क्षति पुगेका पूर्वाधारको मूल्याङ्कन भइरहेको छ। मूल्याङ्कनपछि बाँकी कामको लागत अनुमान तयार गरी अर्थ मन्त्रालयमा स्वीकृतिका लागि पठाइने र स्वीकृति प्राप्त भएपछि नयाँ ठेक्का आह्वान गरिने मिश्रले बताइन्। मन्त्रालयबाट छिटो स्वीकृति आएमा एक वर्षभित्र नयाँ ठेकेदारमार्फत काम अघि बढ्ने अपेक्षा गरिएको छ।

बागलुङ–बिहुँ सडक खण्डको ठेक्का २०७३ साल माघ १४ गते भारत/सिद्धिसाइ कम्पनीसँग दुई वर्षमा सम्पन्न गर्ने सर्तमा ४३ करोड ६५ लाख रुपैयाँमा सम्झौता गरिएको थियो। तर ठेकेदारले १३ किलोमिटरमध्ये करिब ६ किलोमिटर मात्र कालोपत्र गरी काम अलपत्र पारेपछि स्थानीयको दबाब र आन्दोलनका कारण ठेक्का रद्द गरिएको हो। कालोपत्र गरिएको सडकसमेत उप्किएर बिग्रिएको अवस्था छ।

दुई वर्षमा सम्पन्न हुनुपर्ने आयोजना नौ वर्षसम्म पनि पूरा नहुँदा पाँचौँ पटक म्याद थप्दा समेत भौतिक प्रगति ८० प्रतिशतमा सीमित रहेपछि म्याद थप नगरी निर्माण व्यवसायीलाई कालोसूचीमा राख्ने प्रक्रिया अघि बढाइएको छ। हालसम्म ठेकेदारले सडक स्तरोन्नति र कालोपत्रका लागि ३४ करोड ३१ लाख रुपैयाँ भुक्तानी लिइसकेको छ।

प्रकाशित मिति: १८ माघ २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com