म्याग्दी। धवलागिरि गाउँपालिका र अन्नपूर्ण गाउँपालिकाका मतदाताहरूले गाउँमै बस्न सकिने वातावरणको माग गरेका छन्। रोजगारी, गुणस्तरीय शिक्षा र स्वास्थ्य सुविधा नहुँदा उनीहरू बजार वा सहरमा अस्थायी बसोबास गर्न बाध्य भएको अनुभव सुनाएका छन्।

धवलागिरि–१ गुर्जाका रामबहादुर छन्त्यालले नातिनातिना पढाइ, रोजगारी र स्वास्थ्य सुविधा सहज भएको कारण गण्डकी प्रदेशको राजधानी पोखरामा बस्दै आएका बताए। ‘गाउँमा पूर्वाधार, सुविधा र रोजगारी भए बजारमा बस्नुपर्ने थिएन,’ उनले भने।

advertisement

अन्नपूर्ण–५ पाउद्धारका भीम पुनले पनि गाउँमा शिक्षा र रोजगारी नहुँदा आठ वर्षदेखि पोखरामा बस्नु परेको बताए। ‘गाउँमा विद्यार्थी कम, खेत बाँझो, छोराछोरी विदेश गएका, त्यसैले बजारमै बस्नुपरेको हो,’ उनले भने।

पोखरामा मतदाता भेटघाटका क्रममा उम्मेदवारहरूलाई गाउँमै बस्न सक्ने वातावरण बनाउने नीति र योजना ल्याउन दबाब दिएको छ। धवलागिरि–७ धारापानीका झलक थापाले गाउँमा गुणस्तरीय शिक्षा, स्वास्थ्य, रोजगारी र आयआर्जनको अवसर सुनिश्चित गर्न आग्रह गरे।

विगत निर्वाचनमा प्रचार जिल्लाभित्र सीमित थियो, तर यसपालि अध्ययन, व्यवसाय वा रोजगारीका कारण अस्थायी बसोबास गर्ने मतदातालाई समेत उम्मेदवारहरूले महत्व दिँदै पोखरामा भेटघाट कार्यक्रम सञ्चालन गरेका छन्।

एमालेका हरिकृष्ण श्रेष्ठ र नेकपा (कम्युनिष्ट)का अर्जुन थापाले पोखरामा मतदाता भेटघाट गरेका छन्। नेपाली कांग्रेसका कर्णबहादुर भण्डारी (केबी) र स्वतन्त्र उम्मेदवार डा महावीर पुन पनि मतदाता भेट्न पोखरा जाने तयारीमा छन्।

बसाइँसराइ र मतदाता संख्या:
बढ्दो बसाइँसराइ म्याग्दीको जनसंख्या र मतदाता संख्यामा पनि देखिएको छ। आगामी फागुन २१ का लागि म्याग्दीमा ८६,३९७ मतदाता छन्। पुरुष ४२,३३२, महिला ४४,०६४ र एक जना यौनिक/लैङ्गिक अल्पसंख्यक मतदाता रहेका छन्।

स्थानीय तहहरूको अभिलेख अनुसार, आव २०८१/८२ मा ८९ परिवार म्याग्दीमा आए, २४७ परिवार अन्यत्र सरे। आव २०८०/८१ मा २५२ परिवार गए र १०० परिवार आए। म्याग्दी बहुमुखी क्याम्पसका प्राध्यापक गोरखबहादुर जिसीले भने, ‘सडक, विद्युत, खानेपानी र सञ्चार भए पनि रोजगारीको खोजीमा गाउँबाट सहरतर्फ मानिस जान्छन्।’

उम्मेदवारका योजना:
नेपाली कांग्रेसका कर्णबहादुर भण्डारी (केबी), एमालेका हरिकृष्ण श्रेष्ठ, नेकपा (कम्युनिष्ट)का अर्जुन थापा र स्वतन्त्र उम्मेदवार डा महावीर पुन मुख्य प्रतिस्पर्धी छन्।

रास्वपाका उम्मेदवार युवराज रोकाले पुनलाई समर्थन गरेका छन्। नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपा (माओवादी)ले क्षेत्रबहादुर घिमिरे (ध्रुव)लाई उम्मेदवार बनाएको छ।

अन्य दलका उम्मेदवारमा राप्रपा, प्रगतिशील लोकतान्त्रिक पार्टी, श्रम संस्कृति पार्टी, राष्ट्रिय जनमोर्चा, मङ्गोल नेसनल अर्गनाइजेसन र नेसनल रिपब्लिकन नेपालका उम्मेदवार रहेका छन्।

उम्मेदवारहरूले नीति निर्माण तहमा म्याग्दीको आवाज उठाउने, सरकारी योजना र बजेटमा प्रभाव पार्ने, पर्यटन र कृषि मार्फत रोजगारी सिर्जना गर्ने र जलविद्युत्मा लगानीको वातावरण निर्माण गर्ने विषयलाई प्राथमिकतामा राखेका छन्।

प्रकाशित मिति: १८ माघ २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com