एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतले भेनेजुएलाको तेल किन्नका लागि पहिले नै सम्झौता गरिसकेको दाबी गरेका छन् । साथै उनले चीनलाई पनि भेनेजुएलाको तेल किन्न खुला रूपमा आग्रह गरेका छन् ।

एयर फोर्स वनमा पत्रकारहरूसँग कुरा गर्दै राष्ट्रपति ट्रम्पले चीनलाई भेनेजुएलाको तेलमा ठूलो सम्झौता गर्न स्वागत रहेको बताए । उनले भारत चाँडै भेनेजुएलाको तेल खरिद प्रक्रियामा प्रवेश गर्ने र इरानबाट तेल किन्नुको सट्टा भेनेजुएलाबाट आयात गर्ने योजना बनेको उल्लेख गरे । उनका अनुसार यस विषयमा सम्झौताको अवधारणा पहिल्यै तयार भइसकेको छ ।

“हामीले पहिले नै एउटा सम्झौता गरिसकेका छौँ । भारत आउँदैछ र उनीहरूले इरानबाट किन्नुको सट्टा भेनेजुएलाको तेल किन्न जाँदैछन् । त्यसैले हामीले सम्झौताको ढाँचा बनाइसकेका छौँ”, ट्रम्पले भने । उनले चीनलाई पनि भित्र आएर तेल किन्न स्वागत रहेको दोहोर्याए । तर भारत सरकारले अहिलेसम्म राष्ट्रपति ट्रम्पको यस टिप्पणीबारे औपचारिक प्रतिक्रिया दिएको छैन ।

advertisement

यसअघि राष्ट्रपति ट्रम्पले भेनेजुएलाले अमेरिकालाई पाँच अर्ब २० करोड अमेरिकी डलर बराबरको पाँच करोड ब्यारेल तेल प्रस्ताव गरेको र त्यसमा सहमति भइसकेको दाबी गरेका थिए । साउदर्न बुलेभार्डको नाम परिवर्तन गरी डोनाल्ड ट्रम्प बुलेभार्ड बनाउने विषयमा आयोजित पत्रकार सम्मेलनमा उनले नयाँ नेतृत्वसँग निरन्तर संवाद भइरहेको बताए ।

“हामी नयाँ राष्ट्रपतिसँग र देश सञ्चालन गर्ने अन्य व्यक्तिहरूसँग कुरा गरिरहेका छौँ । उनीहरूले भनेका छन्, हामीसँग पाँच करोड ब्यारेल तेल छ र यसलाई तुरुन्तै प्रशोधन गर्नुपर्छ किनकि भण्डारणको ठाउँ छैन । के तपाईँ लिनुहुन्छ ? मैले भनेँ, हामी लिन्छौँ”, ट्रम्पले भने । उनका अनुसार उक्त तेलको मूल्य ५ अर्ब २० करोड अमेरिकी डलर बराबर पर्छ ।

राष्ट्रपति ट्रम्पले भेनेजुएलाका पूर्वराष्ट्रपति निकोलस मदुरोलाई सैन्य कारबाहीमार्फत पक्राउ गरेपछि बनेको अन्तरिम सरकारसँग अमेरिकाको सम्बन्ध राम्रो रहेको पनि उल्लेख गरे । “हामी अन्तरिम राष्ट्रपति रहेका व्यक्ति र अन्य सबैसँग राम्रो सम्बन्धमा छौँ । धेरै दबाब कम भएको छ”, उनले भने ।

मदुरोको नियन्त्रण अन्त्य भएपछि ट्रम्पले वासिङ्टनले भेनेजुएलालाई सङ्क्रमणकालमा सहयोग गर्ने र तेलसहित अन्य स्रोतमा पूर्ण पहुँच चाहेको स्पष्ट पारेका थिए ।

राष्ट्रपति ट्रम्पको पछिल्लो टिप्पणीले न्युयोर्कस्थित समाचार संस्था सेमाफोरको हालैको रिपोर्टलाई पनि पुष्टि गरेको छ । उक्त रिपोर्टअनुसार अमेरिकाले भेनेजुएलाको तेलको पहिलो बिक्री गरेको छ, जसको मूल्य करिब ५० करोड अमेरिकी डलर छ ।

सेमाफोरका अनुसार तेल बिक्रीबाट प्राप्त हुने रकम हाल अमेरिकी सरकारको नियन्त्रणमा रहेको बैंक खातामा राखिएको छ । प्रशासनका एक अधिकारीले शुक्रबार जारी आदेशमा यसको सङ्केत गरेको र अर्का वरिष्ठ अधिकारीका अनुसार मुख्य खाता कतारमा अवस्थित रहेको जनाइएको छ ।

प्रकाशित मिति: १८ माघ २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com