काठमाडौं। कला पत्रकार दिनेश सिटौलाको आइतबार मध्यान्ह १२:४५ बजे निधन भएको छ। यो जानकारी ग्राण्डी अस्पतालले प्रेस विज्ञप्तिमार्फत पुष्टि गरेको छ।
विज्ञप्तिमा भनिएको छ, “चिकित्सकीय प्रोटोकलअनुसार मस्तिष्कको कार्य क्षमता परीक्षण (एप्निय परीक्षण) पोजिटिभ देखियो, जसले स्वतः श्वासप्रश्वास नभएको जनाउँछ। १२:४५ बजे उहाँको निधन भएको जानकारी गराउँछौं।”
सिटौला हाल राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाहसँगै सुदूरपश्चिम भ्रमणमा अछाममा रहेका थिए। माघ १६ गते बिहान पौने १० बजे अचानक बेहोस भएका उनलाई प्रारम्भिक उपचारका लागि अछाम अस्पताल पुर्याउँदा स्वासप्रश्वास गइसकेको थियो। त्यसपछि कार्डियोपल्मोनरी रेससिटेशन (सीपीआर) गरी ४५ मिनेटपछि मुटुको चाल फर्काइएको थियो।
उनलाई नेपाली सेनाको हेलिकप्टरमार्फत काठमाडौंस्थित ग्राण्डी अस्पताल ल्याइएको थियो। अस्पतालले बताएका अनुसार उनलाई गम्भीर हेमोरेज भएको र क्रिटिकल र न्यूरो सर्जरी टिमले आइसियूमा भर्ना गरेको थियो। ४८ घण्टासम्म अनुगमन गर्दा न्यूरोलोजिकल अवस्थामा सुधार नभएको र मस्तिष्कको कार्यक्षमता पुनःप्राप्ति हुने संकेत नदेखिएको अस्पतालले जनाएको छ।
सिटौला चलचित्र पत्रकार संघका निवर्तमान अध्यक्ष पनि थिए।

प्रकाशित मिति: १८ माघ २०८२, आइतबार













प्रतिक्रिया