काठमाडाैं । आम निर्वाचनको मिति नजिकिँदै जाँदा नवलपरासी (वसुप) क्षेत्र नं. १ मा नेपाली कांग्रेसले चुनावी अभियानलाई तीव्र बनाएको छ। प्रतिनिधि सभा क्षेत्र नं. १ को चुनाव प्रचार–प्रसार समितिको कार्यालय, बर्दघाटमा आयोजित कार्यक्रममा कांग्रेसका केन्द्रीय सदस्य तथा यस क्षेत्रका उम्मेदवार विनोद चौधरीले गगन थापाको नेतृत्वमा कांग्रेसले देश विकासको स्पष्ट खाका कोर्ने दाबी गरे।

बदल्यौं कांग्रेस, बदल्छौं देश भन्ने मूल नारासहित भएको कार्यक्रममा महाधिवेशन प्रतिनिधिहरू, जिल्ला नेतृत्व र कार्यकर्ताहरूको उल्लेख्य उपस्थिति थियो। वक्ताहरूले कांग्रेस एक ढिक्का भएर अगाडि बढे जित सुनिश्चित हुने धारणा राख्दै वर्तमान अवस्थामा पार्टी एकताकै खाँचो रहेको औंल्याए।

advertisement

कांग्रेस जिल्ला सचिव कुलदीप आचार्यले कार्यकर्ता संरक्षण नै भोट संरक्षण भएको उल्लेख गर्दै विश्वले चिनेका व्यक्तित्व विनोद चौधरीलाई आफ्नै क्षेत्रमा जिताउन कठिन नहुने बताए। सबै एकजुट भएर लाग्यौं भने परिणाम हाम्रो पक्षमा आउँछ, उनले भने।

निवर्तमान सांसद समेत रहेका चौधरी २०७९ को निर्वाचनमा यसै क्षेत्रबाट निर्वाचित भएका थिए। उनले कांग्रेसको इतिहास क्रान्ति र आन्दोलनमार्फत आर्थिक, सामाजिक र राजनीतिक रूपान्तरणको साक्षी भएको उल्लेख गर्दै अब त्यो इतिहासलाई विकासको मार्गचित्रमा रूपान्तरण गर्ने समय आएको बताए।

“मेरो मनमा कहिल्यै आग्रह–पूर्वाग्रह छैन। विकासको बाटो कांग्रेसले कोर्छ, र गगन थापाको नेतृत्वको कांग्रेसले देश विकासको रेखा कोर्छ,” चौधरीले भने। उनले विशेषगरी युवापुस्ता, खासगरी जेनजी पुस्ताको भावना र आन्दोलनको मर्म कांग्रेसले बुझिसकेको दाबी गर्दै सुशासन कायम र भ्रष्टाचारको अन्त्य नै पार्टीको मूल एजेण्डा रहेको स्पष्ट पारे।

कार्यक्रममा सहभागी नेताहरूले नवलपरासी क्षेत्र नं. १ मा कांग्रेस एकताबद्ध भएर चुनावी मैदानमा उत्रिएको सन्देश दिँदै आगामी निर्वाचनमा जित सुनिश्चित गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए।

प्रकाशित मिति: १८ माघ २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com