काठमाडौँ । योङ कम्युनिस्ट लिग (वाईसीएल) नेपालले आसन्न निर्वाचनलाई लक्षित गर्दै आफ्नो अर्धसैन्य संरचनालाई पुनः सक्रिय बनाउने निर्णय गरेको छ। भर्चुअल माध्यमबाट बसेको संगठनको केन्द्रीय समिति बैठकले देशभरका सबै निर्वाचन क्षेत्रमा विशेष सुरक्षा दस्ता परिचालन गर्ने रणनीति तय गरेको हो।
वाईसीएलका अध्यक्ष पुष्प ओलीका अनुसार देशभरका १६५ वटै निर्वाचन क्षेत्रमा मतदाता तथा उम्मेदवारको सुरक्षाका लागि ‘स्पेसल टास्क फोर्स’ (एसटीएफ) परिचालन गरिनेछ। ती सुरक्षा दस्ता निर्वाचन अवधिभर सम्बन्धित क्षेत्रमा क्याम्पिङ गरेर राखिने योजना बनाइएको उनले बताए।
निर्वाचनका क्रममा हुन सक्ने अवरोध रोक्ने र संगठनको पक्षमा माहोल बनाउन ‘एक बुथ, सय युथ’ अवधारणाअनुसार युवाहरू परिचालन गरिने निर्णय गरिएको छ। अध्यक्ष ओलीका अनुसार सम्बन्धित मतदान क्षेत्रकै युवालाई जिम्मेवारी दिइनेछ भने सामाजिक सञ्जालको समेत अधिकतम प्रयोग गरिनेछ।
बैठकले अन्तरपार्टी युवा, विद्यार्थी तथा ‘जेनजी’ युवाहरूसँग समन्वय गर्न छुट्टै संयन्त्र गठन गर्ने निर्णय पनि गरेको छ। साथै सबै प्रदेशमा एकता प्रक्रियाबाट आएका संगठनका नेताहरू सम्मिलित कमाण्ड सेन्टर निर्माण गर्ने निर्णय गरिएको छ।
बैठकमा पार्टी संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र फ्याक्सन इन्चार्ज दीपशिखाले निर्वाचनलाई आफ्नो पक्षमा पार्न र सफल बनाउन युवाहरूले विशेष भूमिका निर्वाह गर्नुपर्ने निर्देशन दिएका थिए।
प्रकाशित मिति: १८ माघ २०८२, आइतबार













प्रतिक्रिया