एजेन्सी।  छोटो युद्ध विरामपछि रुसले मङ्गलबार बिहानदेखि पुनः युक्रेनका मुख्य सहरहरूमा मिसाइल आक्रमण सुरु गरेको छ । स्थानीय अधिकारीहरूले जानकारी दिएका अनुसार, राजधानी किभमा ब्यालेस्टिक मिसाइल प्रहार गरिएको थियो र त्यहाँ धेरै शक्तिशाली विस्फोटहरू सुनिएका छन्। घटनास्थलका कर्मचारीहरूको भनाइ अनुसार विस्फोटको आवाज लामो समयसम्म सुनिएको थियो।

किभको सैन्य प्रशासन प्रमुख तिमुर त्काचेनकोले टेलिग्राममा लेखेअनुसार, धेरै आवासीय भवनहरू क्षतिग्रस्त भएका छन् र एउटा किन्डरगार्टन पनि ध्वस्त भएको छ। माइनस २० डिग्री सेल्सियसभन्दा कम तापक्रममा सयौँ नागरिकहरू भूमिगत मेट्रो स्टेशनमा शरण लिन बाध्य भएका छन्।

advertisement

युक्रेनी वायुसेनाले पूर्वी सहर द्निप्रोमा पनि ब्यालेस्टिक मिसाइल आक्रमण भइरहेको जानकारी दिएको छ। दोस्रो ठूला सहर खार्किभमा मिसाइल र ड्रोन प्रहार भएको मेयर इहोर तेरेखोभले बताएका छन्।

गत साता, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको व्यक्तिगत अनुरोधपछि रुसले प्रमुख सहर र ऊर्जा पूर्वाधारमाथि आक्रमण अस्थायी रूपमा रोक्ने सहमति दिएको थियो। यो सहमति अबुधाबीमा भएको त्रिपक्षीय वार्तापछि आएको थियो, जसमा रुस, युक्रेन र अमेरिका सहभागी थिए।

युद्ध सुरु भएको सन् २०२२ देखि यो पहिलो प्रत्यक्ष वार्ता थियो। विराम अवधिमा रुसले ऊर्जा केन्द्रमाथि आक्रमण नगरे पनि सामान ढुवानी गर्ने मार्ग र यातायात संरचनामा निरन्तर प्रहार जारी राखेको युक्रेनी अधिकारीहरूले बताएका छन्। यी आक्रमणमा मानवीय क्षति पनि भएको उल्लेख छ।

नयाँ मिसाइल आक्रमणले शान्ति प्रयास कमजोर बनाएको र युद्ध फेरि तीव्र चरणमा फर्किएको संकेत दिएको छ।

प्रकाशित मिति: २० माघ २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com