काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) भित्र ओखलढुंगा जिल्लालाई केन्द्रमा राखेर आन्तरिक असन्तोष चुलिएको छ । यसै क्रममा पार्टीका केन्द्रीय सदस्य सिताराम गुरुङले पदबाट राजीनामा दिएका छन् ।

गुरुङले नेकपाले ओखलढुंगा जिल्लाबाट उम्मेदवार बनाएका अम्बिरबाबु गुरुङलाई सहयोग गर्न नसक्ने स्पष्ट गर्दै केन्द्रीय सदस्य पदबाट अलग भएको घोषणा गरेका हुन् । उनको यो कदमलाई पार्टीभित्रको असहमति र विद्रोहका रूपमा हेरिएको छ ।

advertisement

सिताराम गुरुङ यसअघि नेकपा एमालेका नेता थिए । केही समयअघि उनले एमाले परित्याग गरी नेकपामा प्रवेश गरेका थिए । रोचक संयोग के छ भने, अम्बिरबाबु गुरुङ स्वयं पनि एमाले छाडेर नेकपामा गएका नेता हुन् ।

एमालेमा रहँदा अम्बिरबाबुसँग असहमति जनाउँदै पार्टी परित्याग गरेका सिताराम, उनी नेकपाबाट उम्मेदवार बनेपछि भने पुनः असन्तुष्ट बनेका हुन् । अम्बिरले नेकपाबाट निर्वाचनको टिकट पाएसँगै सितारामले पार्टी छाड्दै फेरि एमालेमा फर्किने निर्णय गरेका छन् ।

राजीनामापछि जारी गरिएको वक्तव्यमा सिताराम गुरुङले वर्तमान राजनीतिक परिस्थितिमा ओखलढुंगा जिल्ला र समग्र मुलुकलाई अघि बढाउन नेकपा एमाले आवश्यक रहेको धारणा व्यक्त गरेका छन् । उनले आफू एमालेमा औपचारिक रूपमा समाहित भएको घोषणा गर्दै आगामी निर्वाचनमा पार्टीका उम्मेदवारलाई जिताउन सक्रिय भूमिका खेल्ने प्रतिबद्धता जनाएका छन् ।

गुरुङले विशेषगरी एमालेकी उम्मेदवार अस्मिता थापालाई विजयी गराउन आफू पूर्ण रूपमा क्रियाशील रहने उल्लेख गरेका छन् ।

यस घटनाले ओखलढुंगामा नेकपाभित्रको आन्तरिक विवाद सतहमा आएको छ भने निर्वाचनको मुखमा राजनीतिक समीकरण थप रोचक बन्ने संकेत देखिएको छ ।

प्रकाशित मिति: २० माघ २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com