मुस्ताङ। यहाँस्थित वारागुङ मुक्तिक्षेत्रमा भारी फेरि हिमपात भएको छ । मुक्तिनाथ क्षेत्रमा यस वर्ष चौथो पटक हिमपात भएको हो ।
मुक्तिनाथ क्षेत्रमा मंगलबार दिउँसोदेखि निरन्तर हिमपात भइरहेको मुक्तिनाथ विकास समितिका सहव्यवस्थापक अर्जुन काफ्लेले जानकारी दिए । मुक्तिनाथ आसपासका क्षेत्रमा मध्यम हिमपात भइरहेको सहव्यवस्थापक काफ्लेको भनाइ छ ।
यसअघि जारी सिजनको पहिलो हिमपात कात्तिक १० गते सुरु भएको थियो । योसँगै जारी सिजनमा चौथो पटक हिमपात भएको समितिका सहव्यवस्थापक काफ्ले उल्लेख गरे ।
यसअघि गएको मङ्गलबार राति मुस्ताङको मुक्तिक्षेत्र र कागबेनीदेखि माथिल्लो क्षेत्रमा भारी हिमपात भएको थियो । गएको मङ्गलबार राति मुस्ताङको उच्चलेकमा पनि आंशिक हिमपात भएको थियो ।
यहाँको मुक्तिनाथ क्षेत्रमा हिमपात भएसँगै त्यस आसपासका डाँडाकाँढा र रानीपौवा बजार पूरै हिमपातले सेताम्मे भइसकेको मुक्तिनाथका पर्यटन व्यवसायी सुरज गुरुङले जानकारी दिए। केही घण्टा अगाडिदेखि निरन्तर हिउँ परिरहेको र रातभरि परेमा मुक्तिनाथ क्षेत्रका सबै बस्ती हिउँले ढाकिने पर्यटन व्यवसायी सुरज गुरुङको भनाइ छ ।
मुक्तिनाथमा चौथौँ पटक हिमपात भएसँगै मुक्तिनाथ मन्दिर हिउँले ढाँकिएको छ । मन्दिर परिसर, कुण्ड, १०८ धारा र अन्यस्थानमा हिउँ थुप्रिन थालेको छ । मुक्तिनाथमा रातभर हिउँ परेमा दुई फिट बढी हिउँ पर्ने अनुमान छ । मुक्तिनाथमा हिउँ पर्न थालेपछि मुक्तिनाथ पुगेका दर्शनार्थीहरू हिउँले समस्या पार्ने देखिएपछि हतारहतार जोमसोम झर्न थालेका छन् ।
यसैगरी मुस्ताङको कागबेनीदेखि तलको घरपझोङ र थासाङ गाउँपालिकामा पनि उच्च लेकसहित वस्तीमै आंशिक हिउँ परिरहेको शितोष्ण बागवानी विकास केन्द्रका कर्मचारी अशोक लिम्बूले जानकारी दिए ।
कर्मचारी लिम्बूले विगत तीन वर्षदेखि तल्लो मुस्ताङमा बस्तीमा हिमपात नभएको उल्लेख गर्दे यसपटक बस्तीमै बाक्लो हिउँ पर्ने छनक देखिएको बताए ।
यसैगरी माथिल्लो मुस्ताङमा उच्च लेकमा आशिक हिमपात भइरहे पनि बस्तीमा हिउँ नपरेको एक्याप लोमान्थाङका कर्मचारी सलिना नेपालीले बताउनुभयो । उच्च लेकमा छिटफुट हिउँ परे पनि बस्तीमा बजोडको हावाहुरी चलिरहेको बताए।
यसअघि गएको मङ्गलबार राति भारी हिमपात हुँदा कागबेनी मुक्तिनाथ र कोरला सडक अवरुद्ध हुन पुगेको थियो । कालीगण्डकी करिडोर बेनी–जोमसोम–कोरला सडक आयोजनाको डोजरले मुक्तिनाथ र कोरला सडकको हिउँ पन्छ्याएर अवरुद्ध सडक सुचारु गरिएको भए पनि फेरि पुनः हिमपातले मुक्तिनाथ र कोरला सडक अवरुद्ध हुनसक्ने देखिएको छ ।
प्रकाशित मिति: २० माघ २०८२, मंगलबार













प्रतिक्रिया