काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत राजनीतिक दलहरूले पेस गरेको बन्दसूचीमा पुरुषको तुलनामा महिलाको संख्या बढी देखिएको छ।

निर्वाचन आयोगले सार्वजनिक गरेको विवरणअनुसार समानुपातिकतर्फको अन्तिम बन्दसूचीमा १ हजार ७ सय ७२ जना महिला समावेश छन् भने पुरुष उम्मेदवारको संख्या १ हजार ३ सय ६३ जना रहेको छ।

advertisement

समानुपातिक निर्वाचन प्रणालीतर्फ ६३ राजनीतिक दल सहभागी भएका छन्। आयोगले कूल ५७ वटा निर्वाचन चिन्ह कायम गरेको छ। अन्तिम सूचीअनुसार समानुपातिकतर्फ कूल ३ हजार १ सय ३५ जना उम्मेदवार कायम भएका छन्।

प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा २९ तथा प्रतिनिधिसभा सदस्य निर्वाचन नियमावली, २०७४ को नियम १६ को उपनियम (२) बमोजिम आयोगले अन्तिम नामावली प्रकाशन गरेको हो।

आयोगले विभिन्न कारण देखाउँदै ७६ जना उम्मेदवारको नाम बन्दसूचीबाट हटाएको छ। हटाइएका नाममध्ये कर्जा सूचना केन्द्रको कालोसूचीमा रहेका २१ जना र प्रदेशसभा सदस्यको समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्दसूचीमा नाम कायम रहेका २५ जना रहेका छन्।

यसैगरी, तोकिएको जरिवाना भुक्तान नगरेका १० जना, मतदाता नामावलीमा पिछडिएको क्षेत्रअन्तर्गत नपरेका १ जना, तथा सम्बन्धित राजनीतिक दलको लिखित अनुरोधमा १० जना उम्मेदवारको नाम पनि बन्दसूचीबाट हटाइएको आयोगले जनाएको छ।

प्रकाशित मिति: २१ माघ २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com