काठमाडौं । नेकपा एमालेका सचिव महेश बस्नेतले संसद पुनःस्थापनासम्बन्धी मुद्दा सर्वोच्च अदालतमा अल्झिनुमा न्यायिक प्रणालीमाथि दबाब र हस्तक्षेप भएको आरोप लगाएका छन्।
बुधबार काठमाडौंमा आयोजित सूर्य ध्वजावाहक उम्मेदवारहरूसँगको संवाद कार्यक्रममा बोल्दै बस्नेतले प्रधानन्यायाधीश र अन्य न्यायाधीशहरू अचानक सम्पर्कविहीन हुने, फोन बन्द गर्ने प्रवृत्तिले न्यायिक प्रक्रिया प्रभावित भएको बताए।
उनले देश ठूलो वैदेशिक आक्रमणको संकेततर्फ गइरहेको दाबी गर्दै भने, “सर्वोच्च, उच्च र जिल्ला अदालतहरू मात्र जलेका होइनन्, हाम्रो सम्पूर्ण न्यायिक प्रणाली नै जलिरहेको अवस्था छ।”
बस्नेतका अनुसार डर, लोभ, प्रलोभन वा सम्भावित महाअभियोगको त्रासका कारण न्यायिक प्रक्रिया ढिलाइ भइरहेको छ, जसले संसद पुनःस्थापनासम्बन्धी मुद्दा अल्झाएको उनले बताए। उनले सर्वोच्च अदालतले तत्काल निर्णय गर्नुपर्ने माग गर्दै भने कि यदि संसद पुनःस्थापना भए, निर्वाचनको नाममा भइरहेको खर्च र गतिविधि अनावश्यक हुनेछ।
सचिव बस्नेतले निर्वाचनमा निश्चित उम्मेदवारलाई जिताउन सरकार नै माध्यम बन्न खोजेको जस्तो अवस्था देखिएको आरोप पनि लगाए। उनले झापा–५ मा देखिएका घटनाक्रमले निर्वाचनको निष्पक्षतामाथि गम्भीर प्रश्न उठाएको बताए।
उनका अनुसार रास्वपाबाट उम्मेदवार बनेका बालेन साहकी श्रीमतीको घरदैलो कार्यक्रममा सिभिल प्रहरी परिचालन गरिएको, साथै उनीहरू स्वयं भोट माग्ने परिस्थितिले सरकार प्रत्यक्ष संलग्न भएको संकेत गरेको छ।
बस्नेतले झापा–५ मा मनोनयन दर्ता हुनुअघि नयाँ एसपी पठाइएका, एमाले अध्यक्ष केपी शर्मा ओली झापाबाट फर्किँदा विराटनगर विमानस्थलमा चेकजाँच गरिएको र घरदैलो अभियानमा सिभिल प्रहरी प्रयोग गरिएको घटनालाई सामान्य नभएको दाबी गरे। उनले भने, “निर्वाचन कसैको एजेण्डा स्थापित गर्न वा कसैलाई जिताउनका लागि हो भने सरकार त्यसको माध्यम बन्न खोजेको देखिन्छ।”
प्रकाशित मिति: २१ माघ २०८२, बुधबार













प्रतिक्रिया