काठमाडौं । प्रतिनिधिसभा सदस्यका उम्मेदवारहरूले सामाजिक सञ्जालमा गरेको खर्च पनि निर्वाचन आयोगले निगरानी गर्ने भएको छ।
आयोगका सहसचिव तथा प्रवक्ता नारायण प्रसाद भट्टराईले उम्मेदवार वा उनीसँग सम्बन्धित व्यक्ति तथा संस्थाले सामाजिक सञ्जालमा गरेको प्रचार-प्रसार खर्च निर्वाचन खर्चमै गणना गरिने जानकारी दिएका छन्।
उनका अनुसार हाल सामाजिक सञ्जालमा कसले, कुन माध्यमबाट र कति रकम खर्च गर्यो भन्ने विवरण प्राविधिक रूपमा सहजै पत्ता लगाउन सकिने अवस्था छ।
“उम्मेदवारहरूले सामाजिक सञ्जालमा गरेको खर्च तोकिएको निर्वाचन खर्चको सीमाभित्र रह्यो कि रहेन भन्ने कुरा आयोगले हेर्छ, भट्टराईले भने।
आगामी २१ फागुन मा प्रतिनिधिसभा सदस्यको निर्वाचन हुँदैछ। निर्वाचन आयोगले भौगोलिक अवस्था अनुसार उम्मेदवारका लागि फरक-फरक खर्च सीमा तोकेको छ।
आयोगका अनुसार काठमाडौँका पाँच निर्वाचन क्षेत्र-क्षेत्र नं. १, ३, ६, ७ र ८—का उम्मेदवारले अधिकतम २५ लाख रुपैयाँ सम्म खर्च गर्न पाउनेछन्।
त्यस्तै, १७ निर्वाचन क्षेत्रका उम्मेदवारका लागि २७ लाख, ६५ निर्वाचन क्षेत्रका लागि २९ लाख, ५२ निर्वाचन क्षेत्रका लागि ३१ लाख र २६ निर्वाचन क्षेत्रका उम्मेदवारका लागि अधिकतम ३३ लाख रुपैयाँ खर्च सीमा निर्धारण गरिएको छ।
निर्वाचन सम्पन्न भई परिणाम घोषणा भएको मितिले ३५ दिनभित्र उम्मेदवारले आफ्नो निर्वाचन खर्च विवरण सम्बन्धित निर्वाचन कार्यालयमा पेस गर्नुपर्ने कानुनी प्रावधान रहेको आयोगले जनाएको छ।
प्रकाशित मिति: २२ माघ २०८२, बिहिबार













प्रतिक्रिया