काठमाडौं । फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनमा सबैभन्दा बढी चासो झापा–५ निर्वाचन क्षेत्रमा केन्द्रित भएको छ।
पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग प्रतिस्पर्धा गर्न काठमाडौं महानगरपालिकाको मेयर पदबाट राजीनामा दिएर बालेन शाह झापा–५ बाट उम्मेदवार बनेपछि यो क्षेत्र चर्चाको केन्द्रमा आएको हो। बालेनप्रतिको बढ्दो जनआकर्षणका कारण निर्वाचन परिणाम कसले आफ्नो पक्षमा पार्ला भन्ने विषय झापादेखि काठमाडौंसम्मका चिया पसल र राजनीतिक वृत्तमा बहसको विषय बनेको छ।
२०६४ सालको संविधानसभा निर्वाचन बाहेक झापा–५ बाट भएका सबै निर्वाचनमा जित निकाल्दै आएका ओलीलाई यसपटक भने चुनौती थपिएको विश्लेषण हुन थालेको छ। यसअघिका निर्वाचनमा राप्रपासँग गठबन्धन हुँदा ओलीलाई सहज भएको थियो। तर यसपटक सबै दल गठबन्धनविना चुनावी मैदानमा उत्रिएका छन्।
यस कारण बालेन शाह ओलीका लागि प्रमुख चुनौतीका रूपमा देखिएका छन्। झापा–५ मा राप्रपा र नेपाली कांग्रेसका धेरै कार्यकर्ता राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) तर्फ खुलेपछि ओलीको चुनौती अझ बढेको स्थानीय कार्यकर्ताहरूको भनाइ छ। एमालेका एक स्थानीय कार्यकर्ताका अनुसार ओलीको जितमा शंका नभए पनि रास्वपाको बढ्दो माहोलले प्रतिस्पर्धा कडा बनाएको छ।
ओली शुक्रबार आफ्नो निर्वाचन क्षेत्रमा जाने कार्यक्रम रहेको छ भने बालेन हाल झापामै रहेर चुनावी गतिविधिमा सक्रिय छन्। दुवै उम्मेदवारलाई आ–आफ्ना दलले भावी प्रधानमन्त्रीका रूपमा अघि सारेका छन्। एमालेले ओलीलाई भावी प्रधानमन्त्रीको रूपमा प्रस्ताव गरेको छ भने रास्वपाले बालेनलाई प्रधानमन्त्रीको उम्मेदवारका रूपमा अघि सारेको छ। यस कारण पनि दुवैका लागि यो निर्वाचन प्रतिष्ठाको विषय बनेको छ।
प्रतिस्पर्धा कडा बन्दै गएपछि ओलीले सो क्षेत्रमा गठबन्धनको सम्भावना खोज्ने प्रयाससमेत गरेको चर्चा छ। राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनको निर्वाचन क्षेत्र पनि झापामै पर्छ। झापामा राप्रपाको प्रभावशाली मत रहेको र ओलीको निर्वाचन क्षेत्रमा पर्ने दमक नगरपालिकाको मेयरसमेत राप्रपाबाट निर्वाचित भएकाले त्यहाँ राप्रपाको मत उल्लेख्य रहेको देखिन्छ।
झापा–५ कै एक स्थानीय कार्यकर्ताका अनुसार हाल त्यहाँ रास्वपाको माहोल अनुकूल देखिएको छ। “एमालेको कोर मत घटेको छैन, तर कांग्रेस र राप्रपाका ठूलो संख्याका कार्यकर्ता रास्वपातिर ढल्किएका छन्, उनले भने। अघिल्ला निर्वाचनमा ओलीले पाएको मतमा राप्रपा र कांग्रेसको समर्थन पनि रहेको अवस्थामा यसपटक ती मत रास्वपातिर जाँदा ओलीलाई चुनाव जित्न कठिन हुन सक्ने कार्यकर्ताहरूको विश्लेषण छ।
प्रकाशित मिति: २२ माघ २०८२, बिहिबार













प्रतिक्रिया