काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रघाती तत्वहरूले अराजकता सिर्जना गरी आफूमाथि झुटा आरोप लगाउने काम गरिरहेको आरोप लगाएका छन्।

झापावासीहरूसँगको भेटघाटका क्रममा ओलीले गत भदौ २३ र २४ गते भएका घटनामा केही समूहले उपद्रव मच्चाएर राष्ट्रियस्तरको अराजकता सिर्जना गर्ने प्रयास गरेको बताए। आफू यस किसिमको सम्भावनाबारे पहिलेदेखि नै सचेत रहेको भए पनि त्यसलाई पूर्ण रूपमा रोक्न नसकिएको उनको भनाइ थियो।

advertisement

ओलीले आगजनी र हिंसामा संलग्न भएकाहरूले उल्टै आफूलाई हत्यारा, षड्यन्त्रकारी भन्दै देश बदनाम गर्ने प्रयास गरिरहेको आरोप लगाए। “आगो लगाउने र मार्नेहरूले नै उल्टै हामीमाथि घृणित आरोप लगाएर देशलाई बद्नाम गर्ने काम गरेका छन्, उनले भने।

प्रधानमन्त्रीले गोली चलाउने आदेश दिन नसक्ने स्पष्ट पार्दै ओलीले प्रधानमन्त्रीले गोली चलायो भन्ने दाबी गर्नेहरू या त बेवकुफ वा अपराधी भएको टिप्पणी गरे। उनको यो अभिव्यक्ति भदौ २३ गते भएको जेनजी आन्दोलनका क्रममा भएका हिंसात्मक घटनासँग सम्बन्धित छ।

उक्त घटनामा प्रदर्शनकारीको आक्रमण, आगजनी र प्रहरी कारबाहीका क्रममा दर्जनौँको ज्यान गएको थियो। सो घटनापछि ओलीले प्रधानमन्त्री पदबाट राजीनामा दिएका थिए। त्यसयता उनले पटक–पटक गोली चलाउने आदेश नदिएको दाबी गर्दै छानबिनको माग गर्दै आएका छन्।

ओलीले भने, प्रधानमन्त्रीले गोली चलाउने आदेश दिन्छ भन्ने कुरा पूर्ण रूपमा गलत हो। सुरक्षा निकायले परिस्थितिअनुसार पहिले नै तय गरिएका नियमअनुसार काम गर्छन्। प्रधानमन्त्रीले प्रत्यक्ष आदेश दिएर गोली चलाइन्छ भन्ने कुरा असम्भवजस्तै हो।”

उनले आफूविरुद्ध फैलाइएका झुटा आरोप र भ्रमबारे सत्य कुरा आम नागरिकसम्म पुर्‍याउन जरुरी रहेकोसमेत बताए। “झुटको प्रचार भइरहे पनि यथार्थ कुरा जनताले बुझ्नुपर्छ,” ओलीको भनाइ थियो।

प्रकाशित मिति: २२ माघ २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com